सहायक हवल्दारको नाममा ट्रायल दिँदा दिँदै सशस्त्रका जवान पक्राउ



बाग्लुङ । सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ। यातयात व्यवस्था कार्यालय बागलुङले आज माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा ‘ट्रायल सेन्टर’ मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोइरीलाई पक्राउ गरेको हो।

पर्वतको कुश्मा नगरपालिका पकुवा घर भई हाल सशस्त्र प्रहरी बलको सहायक हवल्दार पदमा कार्यरत विनोद नेपालीका नाममा प्रयोगात्मक परीक्षामा सहभागी रूपन्देही निवासी सशस्त्र प्रहरी जवान कोइरीलाई परीक्षा स्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिए।

नक्कली परीक्षार्थी बनेका कोइरी सशस्त्र प्रहरी बल रूपन्देहीमा कार्यरत छन् भने सशस्त्र प्रहरी बलको सहायक हवल्दार पदमा कार्यरत नेपाली कास्कीस्थित सशस्त्रवाहिनीमा कार्यरत छन्। परीक्षा दिन लगाउने सशस्त्र प्रहरीकै सहायक हवल्दारलाई पनि अनुसन्धानका लागि बोलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।