जनताको मन जित्दै राष्ट्रपति रामचन्द्र, रेशम चौधरीको माफीको प्रस्ताव गृहमै पठाए फिर्ता



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको मत जित्ने काम गरेका छन् ।

पछिल्लो पछि टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई माफी दिने प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाइदिएपछि उनले जनताको चाहना अनुरुपको काम गरेको ठानिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले प्रचलित कानुन, यस सम्बन्धमा अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुन बमोजिम हुने गरी गर्न भनेर गृहमा फिर्ता पठाइएको जनाएका थिए ।

यसैगरी उनका अनुसार पीडितको तर्फबाट परेको निवेदन पनि आवश्यक कार्यार्थका लागि गृहमा फिर्ता गरिएको हो।

२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा आठ जना प्रहरी र एकजना दूधे बालकको ज्यान गएको थियो।

घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए।

सो घटनामा रेशम चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए। गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरिदिएको थियो।

केही बेर अघि गृहको उक्त प्रस्ताव कार्यान्वयन नगर्न भन्दै टीकापुर घटनामा मृत्यु भएका प्रहरी निरीक्षक केशब बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीलाई आममाफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दिएकी थिइन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट चौधरीलाई आममाफी दिन लागिएको चर्चा चलेपछि उनले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर निवेदन दिएकी हुन् । सात सुरक्षाकर्मीसहित एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका चौधरीलाई सरकारले आममाफी दिएर थुनामुक्त गर्न खोजेपछि शारदाले राष्ट्रपति कार्यालयमा निवेदन दिएर चौधरीलाई थुनामुक्त नगर्न माग गरेकी हुन् ।

‘सुरक्षाकर्मी भएको कारण कर्तव्यपरायणका सिलसिलामा मेरो पति एकपटक मृत्यु भयो तर वहाँबाट आश्रीत म र मेरा परिवार अनि हामी जस्ता पिडितलाई राजनीतिले पटक–पटक जिउँदै मारेको छ । २०७२ भदौदेखि निरन्तर घाउ माथि घाउ थपिदिएको छ राज्यले । अपराधीले राजनीतिको खास्टो भिर्दैमा देशमा न्याय कायम हुन्छ रु संविधानका हक अधिकारको रक्षा हुन्छ रु अथवा पिडितले न्याय पाउछन रु कार्यकारी अधिकार लिएर सत्तामा रहेकाहरुमा मुखले न्याय, अधिकार, कानूनी शासन र लोकतन्त्रको खोक्रो सपना बाँडेर हाम्रो आँशु बिक्री गरिरहेका छन् । राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा बदनाम हुदै गएको राजनीतिले हामी पिडामा परेकालाई हेर्छ, आश्रय दिन्छ अथवा राज्य हाम्रो साथमा छ भन्ने कल्पना समेत उध्रिएर छरपस्ट भएको छ,’ उनले निवेदनमा भनेकी छन्, ‘सिँउदो फुस्रै भएपनि न्यायलयले गरेको फैसलामा चित्त बुझाउने म र म जस्ता निरिहका लागि अब नेपाल देशको अभिभावक र संविधानका संरक्षक बाहेक गुञ्जायस् बाँकी कहि छैन् । पिडामा परि निरिह भएका राज्यबाट अपहेलितका लागी रेशम चौधरीलाई आम माफीको छलफल मात्रै पनि घाउमा थप नुन चुक भएको छ ।’

राष्ट्रपति पौडेलले राष्ट्रपतिमा निर्वाचित भइसकेपछि जनताको हित हुने गरी कार्य गर्दै आएका छन् । यसअघि पनि उनी संसदमा सम्बोधन गर्ने, भोटो देखाउने जात्रालगायतका औपचारिक कार्यक्रममा पनि सामान्य सवारीमा गएर आम जनताको मन जितेका थिए ।