

विद्युत आयोजनामा जनताको १ खर्ब बराबर सेयर

काठमाडौं – सरकारले नेपाली नागरिकका लागि १ खर्ब २ अर्ब २८ करोड रुपैयाँ बराबरको जलविद्युत आयोजनाको सेयर दिने भएको छ ।
ऊर्जा, जलस्रोत, ताथ सिँचाइ मन्त्रालयले जनताले जलविद्युत आयोजना कार्यक्रमअन्तर्गत ३ हजार ४ सय ७९ मेगावट बराबरका १९ जलविद्युत आयोजनामा नेपालीलाई सो बराबरको सेयर दिन लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा जनताको जलविद्युत आयोजना नामक कार्यक्रम सार्वजनिक गर्न लागेको उर्जा मन्त्रालयले जनाएको छ ।
उर्जामन्त्री वर्षमान पुनले श्वेतपत्रमार्फत ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’ भन्ने नाराअन्तर्गत सबै प्रदेशका आयोजनालाई समेटेर तयार गरेको आयोजनाका ढाँचामा सर्वसाधरणको ४९ प्रतिशत सेयर रहने उल्लेख छ ।
जसअनुसार जनताले १ खर्ब २ अर्ब २८ करोड रुपैयाँ सेयर पाउनेछन् । जनतालाई सेयर दिने प्रस्ताव गरिएको १९ वटै आयोजनाहरु सरकारी संस्थान र कम्पनीहरुले निर्माण अघि बढाउन लागेको उर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले जानकारी दिए ।