सशस्त्रमा पाहुनाका स्वागतका लागि खादा र फूलको खरिद निषेध



काठमाडौं । सशस्त्र प्रहरी बलका युनिटहरुमा पाहुनाको स्वागतका लागि खादा र फूलको खरिदलाई निषेध गरिएको छ ।

सरकारको अनावश्यक खर्च नगर्ने नीति अनुसार आगन्तुकको स्वागतका लागि खादा र फूल खरिद नगर्ने नीति अख्तियार गरिएको सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काले बताए ।

सोमबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा आयोजित पत्रकार सम्मेलनमा खड्काले भने, ‘देशैभरका युनिटमा सोही अनुसार खादा र फूल खरिद नगर्न परिपत्र गरेका छौं ।’ उनका अनुसार फूल दिनै परे स्थानीय स्तरमा उपलब्ध दिन निर्देशन दिइएको छ ।

सशस्त्र प्रहरी बलले सादा पोशाकमा सशस्त्र प्रहरी कर्मचारी परिचालन नगर्ने नीति समेत अख्तियार गरेको छ । प्रवक्ता खड्काका अनुसार सीमा क्षेत्रबाट गुनासो आउन थालेपछि सादा पोशाकमा कर्मचारी नखटाउने निर्णय गरिएको हो ।

‘विशेष अवस्थामा खटाउनु परे सम्बन्धित कार्यालय प्रमुखले माथिल्लो युनिटलाई जानकारी गराउनुपर्ने भनिएको छ’, खड्काले भने, ‘यसबारे पहिले गृहबाट पनि मापदण्ड बनाएर परिचालन गर्न भन्दै परिपत्र भएको थियो ।’

सशस्त्र प्रहरी कर्मचारीहरुलाई कुटनीतिक नियोग तथा विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटलाई पनि कडाइ गरिएको छ ।

‘यसबारे आचरण सम्बन्धी स्थायी आदेश नै जारी गरेका छौं, विदेश तालिममा पठाउनका लागि नीति तर्जुमा गरेर नियम संगत रुपमा क्राइटेरियाभित्र पर्ने कर्मचारीलाई विदेश तालिममा पठाउने व्यवस्था गरेका छौं’, खड्काले भने ।

सशस्त्र प्रहरी कर्मचारीहरुको आधारभूत आवश्यकतामा विशेष जोड दिँदै ६५ युनिटहरुमा जवान मेसको स्तरोन्नति गरिएको खड्काले बताए ।

उनका अनुसार जनशक्तिको अनुपातमा शौचालाय तथा स्नान गृहको निर्माण गरिएको छ । ‘एक जवान एक बेडिङ्ग तयार भइसकेको छ, ७० युनिटहरुमा सिसु स्याहार केन्द्र स्थापना गरिएको छ’, उनले भने ।