पश्चिम नवलपरासीको पाल्हीनन्दनमा बाघको आक्रमणबाट दुईजना घाईते



नवलपरासी। पश्चिम नवलपरासीमा बाघको आक्रमणबाट दुई जना घाईते भएका छन् ।

घाईते हुनेमा पाल्हीनन्दन गाउँपालिका- ४ बैरवा बस्ने बर्ष ४५ को गजेन्द्र कोईरी र सोही पालिका- ६ लंगडीपाकड बस्ने वर्ष १८ को सम्पत भर रहेका छन् ।

बाघको आक्रमणबाट घाईते भएका मध्ये कोईरीको मुख, नाक र ओठमा चोट लागेको छ भने सम्पत भरको खुट्टामा चोट लागेको छ । उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक एवम जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी  भोजराज पाण्डेयले जानकारी दिएका छन् ।

उनीहरुलाई बिहिवार बिहान ०६:३५ बजे पाल्हीनन्दन गाउँपालिका- ४ बैरवा स्थित आंँप र बांँसघारीको बगैचामा बाघले पञ्जा प्रहार गर्दा घाईते भएका हुन् । घाईतेहरुलाई उपचारको लागी पाल्हीनन्दन अस्पताल लोहरौलीमा पठाईएको छ ।

अहिले उक्त स्थानमा प्रहरी चौकी गिर्मीबाट प्र.स.नि. खिमानन्द पराजुलीको कमाण्डमा ३ जनाको टोली खटिएको छ ।

बाघ सोही बगैचामा लुकिछिपी बसेकोले  वन कार्यालयमा खबर गरी प्राविधिकसहितको टोली त्यस तर्फ प्रस्थान गरिसकेकोसमेत पाण्डेयले जानकारी दिए ।