प्रधानसेनापति शर्मा भए ‘एकेडेमी हल अफ फेम’ द्वारा सम्मानित



काठमाडाैं । नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीमा अधिकृत क्याडेट आधार तालिम पूरा गरी नेपाली सेनाको सर्वोच्च पदमा नियुक्त भएका प्रधानसेनापति प्रभुराम शर्मा सम्मानित भएका छन्। प्रधानसेनापति शर्मा ‘एकेडेमी हल अफ फेम’ द्वारा सम्मानित भएका हुन्।

प्रधानसेनापति शर्मालाई सोमबार प्रतिष्ठानमा आयोजित अधिष्ठापन समारोहमा प्रतिष्ठानका शिक्षाधिकृत सहायक रथी अनुपजंग थापाले सम्मानपत्र प्रदान गरेका छन्।

कार्यक्रममा मन्तव्य राख्दै प्रधानसेनापति शर्माले सैनिक जीवनको प्रारम्भिक दिनहरूमा प्रतिष्ठानका शिक्षकवर्गबाट प्राप्त हुने सैनिक मूल्य र मान्यतासहितको पेशागत ज्ञानले दूरगामी प्रभाव पार्ने बताए। उनले कठिनाइहरूसँग जुध्न, चुनौतीको सामना गर्न, अभावसँग खेल्न, साहस र धैर्यतासँग मितेरी गाँस्न, दृढता, जिम्मेवारी, संकल्पलाई सारथि बनाउन तथा बौद्धिक विकासका लागि अध्ययनशील हुन प्रतिष्ठानमा प्रदान गरिने तालिमले ठूलो भूमिका खेल्ने बताए।

उनले वर्तमान समयमा प्रविधिको विकाससँगै जटिल बन्दै गएको अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा आन्तरिक सुरक्षा परिवेशसँग जुध्न बहुआयामिक विज्ञताको आवश्यकता रहेको पनि बताए।

विभिन्न शिक्षण संस्थाहरूबाट तालिम प्राप्त गरेका शिक्षार्थीहरूमध्ये विशेष नियुक्ति र पद हासिल गर्नेहरूलाई सम्मान गर्ने र उनीहरूको तस्बिर विशेष कक्षमा राखी सम्मान प्रकट गर्ने प्रचलनअनुरूप नेपाली सैनिक प्रतिष्ठानमा ‘एकेडेमी हल अफ फेम’ अधिष्ठापन समारोह आयोजना गरिएको हो। आजको समारोहमा प्रधानसेनापति शर्माले सि.सं. २० अधिकृत क्याडेट तालिमका गुरुवर्गलाई सम्मान गरेका थिए।

नेपाली सेनाको इतिहासमा नेपाली सैनिक प्रतिष्ठानबाट अधिकृत क्याडेट आधार तालिम पूरा गरेका शिक्षार्थीहरूमध्ये प्रधानसेनापतिको नियुक्ति पाउने शर्मा तेस्रो हुन्। यसअघि यस्तै अवसर प्रधानसेनापति राजेन्द्र क्षेत्री (अवकाश) र प्रधानसेनापति पूर्णचन्द्र थापा (अवकाश) ले प्राप्त गरेका थिए।
उक्त समारोहमा पूर्वप्रधानसेनापतिहरू, त्रि.वि.का उपकूलपति तथा प्राध्यापकहरू, नेपाली सेनाका बहालवाला एवं अवकाशप्राप्त रथीहरू, नेपाली सैनिक प्रतिष्ठानका पूर्वशिक्षाधिकृत तथा डिनलगायत नेपाली सेनाका अधिकृतहरूको उपस्थिति थियो।

अधिष्ठापन कार्यक्रमपूर्व आजै आयोजित दीक्षान्त समारोहमा सि.सं. ६० अधिकृत क्याडेट तालिमका शिक्षार्थी अधिकृतहरूलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले प्रमाणपत्र (ट्रान्सक्रिप्ट र अस्थायी प्रमाणपत्र) र प्रधानसेनापति शर्माले चारित्रिक प्रमाणपत्र वितरण गरेका थिए।

त्रिभुवन विश्वविद्यालयसँग नेपाली सैनिक प्रतिष्ठान सम्बन्धनको २५औं वर्ष पुगेको अवसरमा आयोजित समारोहमा जाम्बियाका १, महिला ११ गरी जम्मा ८६ क्याडेटहरूले मानविकीतर्फ कलाशास्त्रीबाट दीक्षित भएका छन्। हालसम्म सैनिक प्रतिष्ठानबाट विदेशी २३ जनासहित जम्मा २,८५५ जना स्नातकोपाधिसहित दीक्षित भइसकेका छन्।