अधिवक्ता अधिकारीले गरे अदालत अगाडी उभिएरै सार्वजनिक विदाको विरोध !
काठमाडौं । सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गतेका लागि दिएको सार्वजनिक बिदाको विरोध गर्दै अधिवक्ता पुरुषोत्तम अधिकारीले काठमाडौं जिल्ला अदालत अगाडि प्रदर्शन गरेका छन् ।
काठमाडौं जिल्ला अदालत बार एशोसिएसनका उपाध्यक्ष समेत रहेका अधिवक्ता अधिकारीले सरकारले जनयुद्ध दिवसको नाममा फागुन १ लाई सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सोमबार बिहान १० बजेदेखि ११ बजेसम्म काठमाडौं जिल्ला अदालतमा कालोकोटसहित उभिएर प्रदर्शन गर्ने घोषणा गरेका थिए ।
बिहान १० बजे अदालत अगाडि कालोकोटसहित पुगेका अधिकारीलाई अन्य कानुन व्यवसायीहरुले पनि साथ दिएका थिए ।
उनले आफ्नो अभियानमा साथ दिएकामा अन्य कानुन व्यवसायीहरुप्रति आभार समेत व्यक्त गरेका छन् ।
उनी भन्छन्, ‘एक्लै भए पनि १ घण्टा बिताउने सोचाइमा थिएँ । साथीहरू र वरिष्ठज्यूको समेत भौतिक साथ, समर्थन समेत प्राप्त गरेँ । यो सरकार, उ सरकार मतलब भएन । गलत कामको विरोधस्वरूप एउटा अभियान हो । सामाजिक सञ्जाल समेतमा साथ, समर्थन गर्नुहुने र सशरीर उपस्थित भएर साथ दिनुहुने सबैलाई हार्दिक आभार व्यक्त गर्दछु ।’