

रविलाई गृहमन्त्री बनाउनुपर्ने मागसहित जिल्ला प्रशासन अगाडिनै आत्मदाह !

जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउनुपर्ने भन्दै जुम्लामा एकजनाले आत्मदाहको प्रयास गरेका छन् ।
बिहीबार बाँकेको कोहलपुरका गोकर्ण कार्कीले जिल्ला प्रशासन कार्यालय जुम्लाअगाडि आत्मदाहको प्रयास गरेको जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् । उनका अनुसार नागरिकता विवादका कारण गृहमन्त्री र सांसद पद गुमाएका लामिछानेलाई अन्याय भएको भन्दै कार्कीले आत्मदाहको प्रयास गरेका थिए ।
सहायक प्रजिअ रिजालका अनुसार उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवारीचालक हुन् । कार्कीले आफैँमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए ।
‘रविलाई अन्याय भयो, गृहमन्त्री बनाउनुपर्ने भन्दै आत्मदाहको प्रयास गर्नुभयो । अफिसबाट आधा घण्टामा आउँछु भनेर निस्किनुभएको थियो । तर, एक्कासि आत्मदाहको प्रयास गर्नुभयो,’ उनले भनिन् ।
शरीरमा आगो लगाउने प्रयास गर्नेबित्तिकै थाहा पाएपछि अरू कर्मचारीले उनको तत्काल उद्धार गरेका थिए । उनको अवस्था सामान्य रहेको सहायक प्रजिअ रिजालले बताइन् ।