श्रीमान्–श्रीमतीले नै इन्स्पेक्टरमा सँगै नाम निकालेपछि…



प्रहरी प्रधान कार्यालयमा हिजो अर्थात् २०७९ मंसिर २१ गते बुधबार १ सय ११ प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई दर्ज्यानी प्रदान गरिने कार्यक्रम रहेको थियो । संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको हातबाट इन्स्पेक्टरको दर्ज्यानी (फूली) लगाउने लाइनमा थिए श्रीमान् इन्द्रराज भट्ट र श्रीमती जमुना जोशी ।

उनीहरु यसपटकको विभागीयतर्फको नाम निकालेर इन्स्पेक्टरको फूली लगाउने लाइनमा थिए । उनीहरुले २०७८ मंसिर १० गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०७९ मंसिर ८ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ १ सय ११ र  खुलातर्फ ३५ जना गरी कुल १ सय ४६ जनासँगै नाम निकालेका हुन् । श्रीमान्–श्रीमतीले नै इन्स्पेक्टरमा सँगै नाम निकालेपछि संगठनमा उदाहरणीय जोडीका रुपमा देखिएका छन् ।

यसअघि असई हुँदा यो जोडिले इमान्दारीतापूर्वक आफ्नो दायित्व निर्वाह गर्दै करियरका साथै परिवार अगाडी बढाएका थिए । अब इन्स्पेक्टर भएपछि थप जिम्मेवार र कर्तव्यनिष्ठ हुने प्रण समेत गरेका छन् । जागिर खाँदै गर्दा पनि समयलाई व्यवस्थापन गर्दै अध्ययनका लागि समय छुट्याएको बताउँदै यी दुईले गरे के हुँदैन र ? भन्ने कुरा प्रमाणीत गरेका छन् । ‘दुवैजनाको नाम पास लिस्टमा पाउँदा सुरुमा त पत्याउन गाह्रो भयो,’ नजिता आएको क्षण सम्झँदै इन्द्र भन्छन् । र, त्यस्तै भएछ जमुनालाई पनि ।

२०७२ सालमा प्रहरी सहायक निरिक्षक (असई)बाट संगठनमा छिरेका इन्द्रराज नेपालकै दुर्गम दार्चुला जिल्लाको महाकाली नगरपालिकाको काेट काैताेलीमा जन्मिएका हुन् । २०४९ सालमा जन्मिएका इन्द्रले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् भने २०५२ सालमा दार्चुलाकै दुहु गाउँपालिका–४ धारीमा जन्मिएकी जमुना जोशी भने २०७५ सालमा प्रहरी संगठनमा प्रवेश गरेकी हुन्, त्यो पनि प्रहरी सहायक निरिक्षक (असई) बाटै ।

पहिलो प्रयासमा असईमा नाम निकालेका इन्द्रले त्यसपछि संगठनप्रति कर्तव्यनिष्ठ भएर काम गर्दै-गर्दा राम्रो तयारी गर्न नपाएर अहिलेसम्म समय लागेको बताए । आफ्नो व्यक्तिगत वृत्तिविकास भन्दा पनि संगठनको जिम्मेवार सदस्य भएर काम गर्नुपर्ने भएकोले अहिलेसम्म इन्स्पेक्टरको राम्रो तयारी गर्न नपाएको बताउने इन्द्रले श्रीमतीसँग एकैपटक नाम निकाल्दा भने जीवनकै सबैभन्दा ठूलो उपलब्धी ठान्छन् । अध्ययनलाई पनि निरन्तरता दिनुपर्छ भन्ने मान्यता राख्ने इन्द्र पछिल्लो समय एलएलबीमा अध्ययनरत छन् ।

घरकी एउटी बुहारीको हैसियतमा रहेकी नारीलाई आफ्नो श्रीमानसँगै प्रतिष्पर्धामा उत्रिएर सँगै सफलता पाउनु जोशीको लागि कम चुनौतिको काम हो भन्न सकिन्न । दार्चुलाकै जनविकास माविबाट प्लस टु पास गरेकी जमुनाले पनि अंग्रेजीमा स्नातकोत्तर गरेकी छिन् । अहिले एकैपटक दुवैजनाले नाम निकाल्न सफल यो जोडि अन्य पेशारत र सेवा तयारीमा अन्यका लागि प्रेरणाको स्रोत बनिरहेका छन् ।

नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७९ मंसिर १२ गतेको निर्णयले मंसिर १५ गतेदेखि लागू हुने गरी उनीहरु प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन् । महानिरीक्षक सिंहको हातबाट फूली लगाइसकेपछि संगठनले दिएको जिम्मेवारीप्रति कर्तव्यनिष्ठ भएर काम गरिरहेका उनीहरूले थप जिम्मेवारी बढेको बताउँदै देश र जनताका लागि सधैं उदाहरणीय ‘जोडी’ मात्र नभएर उदाहरणीय ‘अफिसर’ भएर प्रस्तुत हुने प्रण समेत गरेका छन् । -अनलाइनन्यूज७