

पोखरा रंगशालामा निसिमको शालिक बनाइने

पोखरा । पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदका दौरान प्रतियोगिताकै क्रममा ग्लाइडर दुर्घटनामा परेर निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको स्मृतिमा अर्धकदको सालिक स्थापना गरिने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ११५औं बोर्ड बैठकले खेलका दौरान ज्यान गुमाउने खेलाडीको सम्मानस्वरुप सालिक स्थापना गर्ने निर्णय गरेको राखेप सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए ।
उनका अनुसार बीमा रकम बाहेक पनि मृतक खेलाडीलाई सरकारबाट राहत दिन मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय पनि भएको छ । राष्ट्रिय खेलकुदमा हरेक खेलाडीको १० लाखको जीवन बीमा गरिएको छ ।
असोज ३० गते प्याराग्लाइडिङको क्रसकन्ट्री विधामा प्रतिस्पर्धा हुँदै गर्दा सराङकोटमा भएको दुर्घटनामा नेपाल आर्मी क्लबका लागि खेलिरहेका उपाधि दावेदार २६ वर्षीय निसिमको निधन भएको थियो ।