मन्त्रीका मितलाई पनि गाडी सुविधा !

खानेपानी मन्त्री उमाकान्त चौधरीले पीआईडीबाट मगाएर आफन्तलाई दिए गाडी 



काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले मातहतका निकायबाट मन्त्रालयका नाममा गाडी लिएर दुरुपयोग गरेको खुलेको छ ।

चौधरी मन्त्री भईसकेपछि मातहतका विभिन्न आयोजना र निर्देशनालयहरुबाट आफ्नो ठाडो आदेशमा दर्जनभन्दा बढी सवारीसाधनहरु मन्त्रालय झिकाएका छन् ।

मन्त्री पदमा रहेकालाई सरकारले नै सवारीसाधनको सुविधा दिए पनि उनीहरुले मातहतका निकायबाट सवारीसाधन मगाएर परिवार, नातेदार, आसेपासेलाई दिने गरेको पाइएको छ । यसै क्रममा खानेपानी मन्त्री चौधरीले केयूकेएल आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) बाट गाडी लिएर आफूले मितको साइनो लगाउने एक व्यक्तिलाई सुविधाको गाडी दिएको खुलेको छ ।

मन्त्रीले पीआईडीबाट बा.१०.च ५७२० नम्बरको पिकअप भ्यान लिएर मितको साइनो लगाउँदै आएका सम्पूर्ण रोक्कालाई गाडी दिएको खुलेको छ ।

उक्त गाडी रोक्काले विगत चारमहिनादेखि प्रयोग गर्दै आएको जनाइएको छ । उक्त गाडी पीआईडीबाट गत जेठ २० गते मन्त्रालय लगिएको पीआईडी स्रोतले जनायो । मन्त्री चौधरीले मातहतका निकायबाट गाडी उठाएर आफ्ना मान्छेहरुलाई गाडी दिएपछि आयोजनाहरुको कामकारबाही गाडी कम भएकै कारण प्रभावित बनेको पीआईडीका एक कर्मचारीले बताए ।  ‘मन्त्रालयबाट माग भएपछि गाडी पठाउनै पर्यो, हाम्रो नियमित कामनै प्रभावित बनेको छ,’ उनले भने ।

‘अहिले उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पाइप विस्तारको काम भइरहेको छ, गाडी नभएकै कारण प्राविधिक कर्मचारीहरु फिल्डसम्म जानका लागि अप्ठेरो भइरहेको छ,’ नाम नबताउने शर्तमा एक कर्मचारीले भने ।

पीआईडीको गाडी कहाँ प्रयोग भएको छ भन्ने कुरा आफूहरुलाई थाहा नहुने बताउँदै उनले भने, ‘मन्त्रालयले मागेपछि दिनै पर्यो त्यो गाडी कहाँ कुन प्रयोजनका लागि प्रयोग भएको छ, त्यसबारेमा हामीलाई कुनै जानकारी रहँदैन ।’

उक्त नम्बरको गाडीको प्रयोगकर्ता भनिएका रोक्कालाई फोन सम्पर्क गर्न खोज्दा उनको फोन भने उठेन ।

खानेपानी मन्त्री उमाकान्त चौधरीलाई गृह मन्त्रालय र आफ्नो मन्त्रालयले २ वटा सवारी उपलब्ध गराएको छ । तर, त्यतिले नपुगेर उनले पीआईडीबाट ९ वटा सवारी साधन मागेर प्रयोग गरिरहेका छन् ।

स्रोतका अनुसार मन्त्री चौधरीले एउटा सरकारी सवारीसहित ४ वटा गाडी प्रयोग गर्न थालेको ६ महिना भइसकेको छ भने थप २ वटा सवारी एक महिनादेखि फेरि तानेका छन् । उनले निवासको लागि भन्दै दुई वटा स्कुटीसमेत लिएका छन् ।

मन्त्रीले सचिवालयमा चाहियो भन्दै बागमती अञ्चलमा दर्ता भएका ११, १७ र १९ लटका नयाँ सवारी लगेका छन् भने दुई वटा स्कुटी पनि प्रयोग गर्दै आएका छन् । एउटा पीकअप र अर्को जीप केही दिनको लागि भनेर एक महिनादेखि बेपत्ता बनाएका कर्मचारीहरुको आरोप छ । मन्त्रीको सचिवालयका लागि भनेर लगिएका सवारी साधन ७ वटा छन्, जवकी मन्त्रीलाई सरकारले नै सवारीको लागि भनेर बेग्लै सवारी साधन उपलब्ध गराउँछ ।