पललाई जबरजस्ती करणीमा सफाई, बालयौन दुर्व्यवहारमा साढे २ वर्ष कैद, १० लाख क्षतिपूर्ति

नवलपुर । नायक पल शाहलाई अदालतले बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद सजाय सुनाएको छ। जबरजस्ती करणीमा सफाइ दिँदै नवलपुर जिल्ला अदालतले शाहलाई कैद सजाय सुनाएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए।

त्यस्तै, अदालतले शाहलाई २५ हजार जरिबानाको सजाय सुनाएको छ। पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने अदालतको फैसलामा उल्लेख छ।

शाहको पक्षमा ७ जना वकिल र सरकारी वकिलका तर्फबाट ३ जना वकिलले बहस गरेका थिए। उनीविरुद्ध तनहुँ र नवलपरासी दुवै इजलासमा मुद्दा परेको थियो। गत चैत १० गते तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले शाहलाई थुनामा पठाउन आदेश गरेको थियो।

२०७८ बैशाख १४ गते तनहुँको दुलेगैँडास्थित एक घरमा बास बसेको समयमा १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई प्रेम जालमा पारेर करणी गरेको आरोप लागेको छ। शाहले १५ वर्ष ९ महिना ११ दिनकी किशोरीलाई प्रेम जालमा पारेर जबर्जस्ती करणी गरेको आरोप लागेको छ।

नवलपरासी जिल्ला अदालतले पनि पूर्पक्षको लागि थुनामा नै पठाउन आदेश दिएको थियो। त्यसपछि उनी उच्च अदालत कास्की पुगेका थिए।

उच्च अदालतले पनि जिल्ला अदालतको निर्णय सदर गरेको थियो। उनीविरुद्ध परेको अर्को मुद्दा तनहुँ जिल्ला अदालतमा विचाराधीन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *