गगनलाई ‘टार्गेट’ गर्दै नेकपा एसबाट काठमाडौं–४ का लागि ५ को नाम सिफारिस



काठमाडौं । सत्तारुढ गठबन्धनको एक दल नेकपा (एकीकृत समाजवादी) ले कांग्रेस महामन्त्री गगन थापाको क्षेत्रमा दाबी प्रस्तुत गरेको छ । यसअघि काठमाडौं क्षेत्र नं. ४ बाट उम्मेदवार बनिरहेका थापालाई नै लक्षित गरि पहिलोपटक उम्मेदवार सिफारिस गरिनु गठबन्धनमा आशंका पैदा भएको छ ।

एकीकृत समाजवादी तुलनात्मक रुपमा केही बलियो भएको निर्वाचन क्षेत्रहरुमा कुनै सुरसार नगरेको एसले कांग्रेस महामन्त्रीकै निर्वाचन क्षेत्रमा आँखा लगाएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ४ समन्वय कमिटीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि पाँच जनालाई सिफारिस गरेको छ ।

कमिटीको शनिबार बसेको बैठकले काठमाडौँ जिल्ला कमिटीका कावा सचिव ध्रुवराज न्यौपाने, केन्द्रीय सदस्य रञ्जना मास्के, सीता ओझा र सीता श्रेष्ठ तथा बौद्धिक व्यक्तित्व ठाकुर खकुरेललाई प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि जिल्ला कमिटीलाई उम्मेदवारी सिफारिस गरेको हो । जिल्लाले प्रदेश कमिटीलाई भदौ १२ र प्रदेशले केन्द्रलाई १५ गतेभित्र सिफारिस गरी  केन्द्रले २० गते उम्मेदवारी टुङ्गो लगाउने कार्यतालिका छ ।

बैठकले पार्टीप्रतिको निष्ठा, अनुशासन र सङ्गठन  क्षमताका आधारमा ती नाम सिफारिस गरेको हो । पार्टीले कम्तीमा एक महिलासहित चार जनाको नाम सिफारिस गर्न भने पनि बैठकले पाँच जना नै योग्य देखिएको भनी ती नाम पठाएको बताइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ–४ अन्तर्गत काठमाडौँ महानगरपालिकाका १, ७, ८ र ३० तथा बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडा पर्छन् ।

यसैबीच बूढानीलकण्ठ–१०, कपनस्थित कपन बहुमुखी क्याम्पसको साधारणसभा यही भदौ १८ गते बस्ने भएको छ । सभाले क्याम्पस सञ्चालनका लागि अध्यक्षसहित १९ सदस्यीय कार्यसमिति निर्वाचन गर्ने छ ।