किड्स प्लेजोनसहित पोखरामा खुल्यो फिस्टेल ड्रिमपार्क



पोखरा । पोखरास्थित महतगौंडामा फिस्टेल ड्रिमपार्क सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका वडा नं. १७ महतगौंडा, सीतापाइलामा ६५ रोपनीमा क्षेत्रफलमा फैलिएको सुविधासम्पन्न फिस्टेल ड्रिमपार्क सञ्चालनमा ल्याएको आयु इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष कदम केसीले बताए ।

शनिबारदेखि चर्चित ढुंगेसाँघु मेला लाग्ने ठाउँनजिकै फिस्टेल ड्रिमपार्क अनौपचारिक रुपमा सञ्चालन भएको प्रालिका अध्यक्ष केसीले जानकारी दिए ।

उनले भने,  ‘बच्चादेखि वृद्धसम्म सबैलाई १ दिनभरि मनोरञ्जन दिन सक्ने ड्रिमपार्क पोखराकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने छ ।’ कतिपय खेल नेपालमै पहिलो पटक सुरुवात गरिएको फनपार्कमा प्रयोग भएका उपकरणहरु अन्तर्राष्ट्रियस्तरका रहनुका साथै सुरक्षाको दृष्टिकोणले पनि अत्यन्तै राम्रो रहेको केसीले बताएका छन् ।

पोखरा आउने पर्यटकको बसाईं अवधि बढाउनसमेत पार्कले भूमिका खेल्ने उनको विश्वास लिएको र विभिन्न उत्सव पार्कमै मनाउने समुहलाई विशेष छुट दिने केसिले जनाएका छन् ।

शनिबार देखि वाटर जोन पनि सञ्चालनमा आएको छ । वाटर जोनमा पनि बच्चा, युवा र वयस्कले फरक फरक तवरले मज्जा लिन मिल्ने ११ इभेन्ट छन् ।

२० मिटर अग्लो फ्रिफल, फेमिली रोलर कोस्टर ड्राइपार्कका मुख्य आकर्षण रहेको फर्नपार्कमा करिब १२ मिटर अग्लो स्लाइड पुल रहेको छ । ३ देखि ७, ८ वर्षका बच्चाका लागि किड्स प्ले जोन रहेको केसिले बताएका छन् ।