नवलपुरलगायतका क्षेत्रमा भारी वर्षा, दुम्कौलीमा खतराको साइरन बजाइयो



नवलपुर । पूर्वी नवलपरासी, चितवन, बारा, पर्सा, रुपन्देही र कास्कीका केही स्थानमा भारी वर्षा भएको छ ।

पूर्वी नवलपुरमा भारी वर्षा भएको छ । बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पूर्वी नवलपुरका केही पहाडी क्षेत्र तथा तराई क्षेत्रमा बाढी आएको छ ।

तराईको दुम्कौली क्षेत्रमा खतराको संकेतका रुपमा साइरन बजाइएको छ । दुम्कौलीमा पछिल्लो २४ घन्टामा १३४.४ मिलिलिटर वर्षा भएको छ ।

वर्षा र बाढीले क्षति पुर्‍याउन सक्ने  भएकाले तटीय क्षेत्र आसपास र डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

यसैगरी चितवनको माडी क्षेत्रको छर्छरे, कल्याणपुर, बनकट्टा, गोविन्द बस्ती र आसपासको क्षेत्रमा पनि आज बिहान भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्र भई बहने रिउखोला र अन्य खहरेखोलामा बाढीले क्षती पुर्‍याउन सक्ने भएकाले नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

गएराति नै मकवानपुरको हेटौंडा, चितवनको शक्तिखोर, नवलपरासी, रूपन्देही, कास्की र आसपास केही स्थानमा भारी वर्षा भएकाले आज बिहान १० बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा लेखिए अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ ।

देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको साथै प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसमी बुलेटिनमा उल्लेख छ । वर्षा, बाढी र गेग्रान बहानवले दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।