निर्मला पन्त हत्याको चार वर्ष पूरा, अलमलमै प्रहरी, ‘निरन्तर अनुसन्धान गरिँदै’



काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार वर्ष पुरा भएको छ । सायदै सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन ।

पटकपटक हत्या नजिक पुगिसकेको दाबी गर्ने नेपाल प्रहरीमा अधिकारीहरु कञ्चनपुर वा सुदूरपश्चिमबाट सरुवा भएसँगै थप पहल भएन नत हत्यारा नै सार्वजनिक भए । राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको निर्मला हत्याकाण्डलाई विभिन्न रूपमा अनुसन्धान गरे पनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाएर पक्राउ गर्न नसक्दा यो घटना रहस्यकै गर्भमा रहेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) श्याम सिंह चौधरीले प्रहरीले निरन्तर रुपमा अनुसन्धान गरिरहेको बताए । ‘जिल्ला प्रहरी कार्यालय र हेडक्वाटर्रबाट खटिएको सिआईबीको संयुक्त टोलीले निरन्तर अनुसन्धान गरिरहेको छ,’ एसपी चौधरीले भने ।

एसपी चाैधरीले अहिले विशेष गरी लागूऔषध दुर्व्यर्सनीलाई लक्षित गर्दै अनुसन्धान जारी गरिरहेको र डीएनए परिक्षणका कामहरु गरिरहेको पनि बताए । ‘हामी अनुसन्धानकै क्रममा छौं,’ उनले भने, ‘अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन ।’

घटनाबारे बताउन सक्ने प्रत्यक्षदर्शी नहुँदा अनुसन्धान निष्कर्षमा पुग्न नसकेको उनले बताए । प्रहरीले हत्यारा पत्ता लगाउन निरन्तर अनुसन्धान गरिरहेको र दोषी पत्ता लाग्ने विश्वास आफूले लिएको पनि उनले बताए ।

चार वर्ष पुगेको स्मृति गर्दै आज (मंगलबार) निर्मलका बुवासहितका केही व्यक्ति आएर तत्काल दोषीको पत्ता लगाई कारबाही गरी आफूहरुलाई न्याय दिलाउन ज्ञापनपत्र बुझाएको जनाइएको छ ।