सेनाकी जयरानीले बनाइन् राष्ट्रिय कीर्तिमान



काठमाडौं । त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले ४ सय मिटर हर्डल्समा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

नेपाल एथलेटिक्स संघको आयोजनामा भईरहेको ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत शनिबार जयरानीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

दशरथ रंगशालामा जयरानीले निर्धारित दुरी १ मिनेट ०७ दशमलब २ सेकेण्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् ।

जयरानीले छैटौं राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७.७ सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् ।

आर्मीकै निर्मला थापाले १ मिनेट ०८ दशमलब ७ सेकेण्डमा पूरा गर्दै रजत जितिन् । एपीएफकी कल्पना श्रेष्ठले १ मिनेट ०९ दशमलब ७ सेकेण्डको समयसहित कास्य जितिन् ।

पहिलो दिन शुक्रबार जयरानीले १ सय मिटर हर्डल्समा १५.२० सेकेन्डको कीर्तिमान रचेकी थिइन् । यसअघि उक्त कीर्तिमान प्रमिला थारुको नाममा थियो । प्रमिलाको टाइमिङ १६.३८ सेकेन्ड थियो ।

शुक्रबारै आर्मीका जीवन थारुले पुरुष १ सय १० मिटर हर्डल्समा १४.९६ सेकेन्डको कीर्तिमान बनाएका थिए । उनले आफ्नै नाममा रहेको १५.६० सेकेन्डको कीर्तिमान सुधार गरेका थिए ।

४ सय मिटर पुरुषतर्फ आर्मीका राम प्रसाद थारुले ५५ दशमलब ९ सेकेण्डको समयसहित स्वर्ण जिते ।

आर्मीका जीवन थारु ५६ दशमलब ७ सेकेण्डसहित दोस्रो हुँदा मधेश प्रदेशका मुकेश थारु ६५ दशमलब १ सेकेण्डसहित तेस्रो भए ।

जयरानीले महिला लङजम्पका पनि स्वर्ण हात पारिन् । जयरानीले ५ दशमलब १३ मिटर जम्प गरिन् । एपीएफकी शिला चौधरी ५ दशमलब ०३ मिटरसहित दोस्रो हुँदा पुलिसकी शिमा चौधरी ४ दशमलब ७८ मिटरसहित तेस्रो स्थानमा रहिन् ।

पुरुषतर्फ ६ दशमलब ८५ मिटरका साथ एपीएफका सलिम दिवामले स्वर्ण जिते । आर्मीका शेरबहादुर विष्टले ६ दशमलब ७५ मिटर दुरी फाल्दै रजत जित्दा लुम्बिनिका सुदिप थारुले ६ दशमलब ६५ मिटरका साथ कास्य जिते ।

८ सय मिटरको पुरुषमा आर्मीका सोम बहादुर कुमालले स्वर्ण जिते । उनले १ मिनेट ५६ दशमलब १५ सेकेण्डको समय निकाले ।

आर्मीकै सुनिल सुनारले १ मिनेट ५६ दशमलब ७२ सेकेण्डको समय निकाल्दै रजत जित्दा पुलिसका तेज बहादुर कार्कीले १ मिनेटमा ५६ दशमलब ७९ सेकेण्डसहित कास्य जिते  ।

महिलातर्फ एपीएफकी फुलमती रानाले स्वर्ण जितिन् । उनले २ मिनेट १६ दशमलब ८ सेकेण्डको समय निकालिन ।

कर्णालीकी राममाया बुढाले २ मिनेट २० दशमलब ५ सेकेण्डको समय निकाल्दै रजत जित्दा आर्मीकी राधिका श्रेष्ठले २ मिनेटमा २७ दशमलब ७ सेकेण्डसहित कास्य जितिन् ।

२ सय मिटरमा एपीएफका शिवराज पार्कीले २१ दशमलब ९२ सेकेण्डको समय निकाल्दै स्वर्ण जिते । कर्णालीका दिल्ली भण्डारीले २२ दशमलब ४१ सेकेण्डसहित रजत जित्दा एपीएफका आशिष चौधरीले २२ दशमलब ५० सेकेण्डसहित कास्य जिते ।

२ सय मिटर महिलातर्फ आर्मीकी सरस्वती चौधरीले २५ दशमलब ४८ सेकेण्डसहित स्वर्ण जिते ।

एपीएफकी रमिता कुमारी थारु २६ दशमलब ०२ सेकेण्डसहित रजत जित्दा बागमतीकी लुलजा अमात्यले २७ दशमलब ४० सेकेण्डसहित कास्य जितिन् ।