बालेनपत्नीको भावुक सन्देश, ‘तिमीलाई आफ्नो कार्यकालमा कहीँकतै नडगमगिने शक्ति मिलोस्’



काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुखका लागि नवनिर्वाचित नगरप्रमुख बालेन्द्र शाह (बालेन) लाई पत्नी सबिना काफ्लेले बधाई दिएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत् बालेनलाई बधाई दिँदै अब मेरो बालेन हाम्रो बालेन भएको बताएकी छिन् ।

उनले निर्वाचन आयोगले बालेनलाई औपचारिक रुपमा विजेता घोषित भएलगत्तै घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन’ भन्दै प्रतिबद्धता समेत जनाएकी छिन् ।

उनले अगाडि लेखेकी छिन्, आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालीएको छ ।

तिम्रो संयमता नै तिम्रो शक्ति हो । दिन रात नभनी तिमीले गरेको  मिहेनतको फल आज सबै सामु प्रष्ट छ । तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् !

 घरी घरी डर पनि लाग्छ, अगाडि विशाल भवसागर छ, बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जनमानसमा तिमी प्रतिको विश्वास सम्झन्छु, उहाँहरुको माया सम्झन्छु, उहाँहरुको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ । चुनौतीहरु धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गारो होला तर असम्भव छैन । तिमीलाई आफ्नो कार्यकालमा कहीँकतै नडगमगिने शक्ति मिलोस्  ।अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस् । पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस् । तिम्रा पाइला अगाडि मात्र बढिरहुन् , ती अगाडि बढिरहेका पाइलासँग साथमा साथ हिँड्न मेरो प्रेम, मेरो विश्वास , मेरो साथ अनि समर्थन तिमीसँग सदैव हुनेछ ।

घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ ।

तिमीलाई हार्दिक बधाई । मलाई हार्दिक बधाई । हामी सबैलाई हार्दिक बधाई ।

बालेनले लौरो चिह्नबाट निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा बालेनले ६१ हजार ७ सय ६७ मत ल्याएका छन्। कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३८ हजार ३ सय ४१ मत ल्याउन सकिन भने एमालेका केशव स्थापितले ३८ हजार १ सय १७ मत पाए।

बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वीको भन्दा २३ हजार ४ सय २६ मत बढी ल्याएका छन्।