आईपीएल २०२०ः पञ्जाबको नमिठो पराजय, कोलकता तेस्रो स्थानमा



युइई । कोलकता नाइट राइडर्सले शनिबार साँझ सम्पन्न खेलमा पञ्जाब विरुद्ध रोमाञ्चक जीत हात पार्दै आईपीएलको अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले चौंथो जित निकालेको छ ।

आबुधाबीमा शनिबार भएको रोमान्चक खेलमा किङ्स इलाभेन पन्जाबलाई २ रनले पराजित गर्दै कोलकत्ताले चौंथो जित निकालेको हो ।

कोलकत्ताले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो ।

पन्जाबका कप्तान केएल राहुल र मायांक अग्रवालले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । राहुलले ७४ रनको अर्धशतकीय इनिङ्स खेल्दा अग्रवालले ५६ रन बनाए । यस्तै निकोलस पुरन १६ रनमा आउट हुँदा ग्लेन म्याक्सवेल १० रनमा अविजित रहे ।

कोलकत्ताविरुद्ध पन्जाब जितको नजिक पुगेर पनि पराजित भयो । अन्तिम २ ओभरमा पन्जाबलाई २० रन आश्यकता थियो । पन्जाबले मात्र २ विकेट गुमाएको थियो । पन्जाबले १८ औं ओभरमा कप्तान राहुलसहित २ विकेट गुमाउँदा ६ रन मात्र जोड्न सक्यो ।

अन्तिम ओभरमा पन्जाबलाई जितका लागि १४ रन आवश्यक थियो । तर, पन्जाबले अन्तिम ओभरमा  थप एक विकेट गुमाएर मात्र ११ रन बनाउन सक्यो ।

कोलकत्ताका प्रशिद्द कृष्णले ३ विकेट लिए । सुनिल नारिनको नाममा दुई विकेट रह्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

कोलकत्ताका लागि कप्तान दिनेश कार्तिक र सुबमन गिलले अर्धशतकीय इनिङ्स खेले । कप्तान कार्तिकले ५८ रन जोड्दा गिलले ५७ रन बनाए ।

कोलकत्ताका इयान मोर्गन २४ रनमा आउट भए । पन्जाबका मोहमद शामी, अर्शदिप सिंह र रबि बिश्नोईले १÷१ विकेट लिए ।

जितसँगै कोलकत्ता तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताले ६ खेलमा ८ अंक जोडेको छ । पन्जाबको भने यो छैटौं हार हो । ७ खेलमा १ जितसहित २ अंक जोडेको पन्जाब पुछारमा रहेको छ ।