सशक्तिकरण एवं आत्मसम्मानका लागि अपाङ्गतामैत्री कानून निर्माण र कार्यान्वयनमा जोड



काठमाडौँ । अपाङ्गता भएका नागरिकको सशक्तिकरण एवं आत्मसम्मानका लागि अपाङ्गतामैत्री कानून निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ ।

अपाङ्गता भएका महिलाहरुको महासंघ, राष्ट्रिय बहिरा महासंघ नेपाल, नेपाल नेत्रहिन संघ र श्रवण दृष्टिविहिन अभिभावक संघ नेपाल लगायतका संघसंस्थाको साझेदारीमा आइतवार काठमाडौंमा आयोजना गरिएको ‘समावेशीताका लागि नीतिगत सवलता’ परियोजना शुभारम्भ कार्यक्रममा अपाङ्गता अधिकारकर्मीहरुले अपाङ्गता भएका व्यक्तिको राज्यका हरेक संरचनामा समान सहभागितामा लागि अपाङ्गतामैत्री नीति निर्माण तथा त्यसको इमान्दारीतापूर्वक कार्यान्वयनमा जोड दिएका हुन् ।

परियोजना अधिकारमा आधारित परियोजना भएको बताइएको छ । कार्यक्रमको मूल उद्वेश्यको रुपमा नीतिगत समावेशीकरण एवं सवलीकरण रहेको परियोजनाका साझेदार संस्थाले जानकारी दिएका छन् ।

परियोजना अन्र्तगत साझेदारी संस्था एवं सरोकारवाला निकायसँगको समन्वय एवं सहकार्यमा  अपाङ्गता भएका महिलाहरुको सशक्तिकरण एवं हिंसाको अन्त्यका एवं न्यायका लागि अपाङगता भएका महिलाहरुको महासंघले पैरवीको नेतृत्व गर्ने, अपाङगता भएका व्यक्तिको पहुँचको सवालमा राष्ट्रिय बहिरा महासंघले संयोजनको भूमिका निर्वाह गर्ने र समावेशी शिक्षाको पैरबीको नेतृत्व नेपाल नेत्रहिन संघले गर्ने जानकारी परियोजनाका साझेदारी संस्थाले दिएका छन् । परियोजनाले एकवर्षभित्र ठोस उपलब्धि हासिल गर्ने गरि काम गर्ने लक्ष्य लिएको समेत दावी गरिएको छ ।

परियोजना शुभारम्भ कार्यक्रममा सफलताको शुभकामना दिदै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव राजु बस्नेतले ‘समावेशीताका लागि नीतिगत सवलता’ परियोजनाले  अपाङ्गता भएका सवैखाले व्यक्तिको न्याय, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा पहुँच पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

परियोजना शुभारम्भ कार्यक्रममा राज्यका सरोकारवाला निकायमा रहेका अधिकारीहरुले अपाङ्गताको अधिकारको पक्षमा काम गर्ने प्रतिबद्वता व्यक्त गरेका थिए । अपाङ्गता भएका व्यक्ति तथा संघसंस्थाले अपाङ्गतामैत्री कानून निर्माण गर्नुपर्ने, अपाङ्गतासम्वन्धी कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, अपाङ्गता सम्बन्धी सेवा सुविधा, सहुलियत र अधिकार उपयोग गर्न परिचयपत्र वितरण प्रणालीलाइ व्यवस्थित र वैज्ञानिक बनाउनुपर्ने र बनेका नीति नियमका बारेमा स्थानीय तहलाइ अभिमुखीकरण गर्नुपर्ने लगायतका माग राख्दै आएको छनर ।

विश्व बैंक र विश्व स्वास्थ्य संगठनको दावी अनुसार विश्वको कुल जनसंख्याको १० देखि १५ प्रतिशत मानिसहरू अपाङ्गताको अवस्थामा बाँचिरहेका छन् र अधिकांश अपाङ्गता भएका व्यक्तिहरू विकासशील वा अल्पविकसित देशहरूमा छन्  ।

यहि दावीलाई नेपालको हकमा मान्ने हो भने नेपालमा अपाङ्गता भएका व्यक्तिको जनसंख्या झण्डै ३० लाखको हाराहारीमा हुन्छ । तर हालसम्म नेपालमा कति अपाङ्गता भएका व्यक्ति, कहाँ कस्तो अवस्थामा रहेका छन् भन्ने कुराको विस्तृत तथ्याङ्क छैन । जनगणना २०६८ को प्रतिवेदनमा उल्लेख भए अनुसार कुल जनसंख्याको १.९४ प्रतिशत मात्र अपाङ्गता भएका व्यक्तिको जनसंख्या रहेको जनाइएको छ ।