भतिजीसँग अनैतिक सम्बन्ध खुल्ने डरले दाजुको हत्या



ताप्लेजुङ । भतिजीसँगको अनैतिक सम्बन्ध खुल्ने डरले दाजुको हत्या गरेका छन्। ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-५ का पेम्बालाक्पा शेर्पाले आफ्नै दाजु फुर्वाग्यावेको हत्या गरेका हुन्। पेम्बालाक्पाले भतिजी पाशाङ ल्हामुसँग मिलेर दाजुको हत्या गरेको प्रहरी समक्ष स्वीकारेका छन्।

दुवैलाई साउन १९ गते पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताए। घरबाट ६ घण्टा टाढा रहेको गाइगोठमा बस्दै आएका फुर्वाग्यावेलाई साउन ८ गते हत्या गरेको खुलेको श्रेष्ठले बताए।‘मृतकको भाई र भतिजीबीच पहिलेदेखि अवैध सम्बन्ध रहेछ,’ श्रेष्ठले भने, ‘सोहि विषयमा विवाद हुँदा दाउराको चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेर गोठको अगेनामाथी राखेर म्याट्रिस, राडी र कम्बलले छोपेर आगो लगाएको अभियुक्तले स्वीकारेका छन्।’

मृतक फुर्वाग्यावे साउन ८ गते रासन लिएर घरबाट गोठ गएका थिए। साउन १२ गते उनका काइली बुहारी थप रासन लिएर गोठमा पुगेर हेर्दा मृत अवस्थामा देखेपछि वडाध्यक्ष जयबहादुर खड्कालाई खबर गरेका थिए। खड्काले प्रहरीमा खबर गरेपछि प्रहरी निरिक्षक मोहन पोख्रेलको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेको थियो। दाजुभाईको गोठ पाँच सय मिटरको दूरीमा पर्छ। तीनै जना गोठमा बस्ने गरेको र उक्त क्षेत्रमा अन्य कुनै गोठ/बस्ती नरहेको तथा अन्य व्यक्तिसमेत त्यहाँ नगएको खुलेपछि साउन १९ गते पेम्बालाक्पा र पाशाङल्हामु प्रक्राउ परेका थिए। -अन्नपूर्ण पोस्ट्