‘ब्रान्डिङ किङ्ग’ मेघेन्द्र – ‘जीवनमा सुखी हैन खुशी हुन सक्नुपर्छ’



मेघेन्द्र प्रकाश गिरी – नेपालको कर्पोरेट सेक्टरमा स्थापित नाम । भर्सटाइल मेघेन्द्र आफ्नो जीवन पनि भर्सटाइल नै बनाउन खप्पीस छन् । मध्यपश्चिमको बर्दियामा ४४ वर्ष अघि जन्मिएका गिरी २०४७ सालमा एसएलसी पास गरेपछि व्यवस्थापनमा लाग्ने सोचका साथ आईकम भर्ना भए । सपना देख्न खप्पीस मेघेन्द्र २०५२ सालमा नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट बीकम पास गरिसकेपछि राजधानीको शंकरदेव क्याम्पसबाट मास्टर्स गरे । त्यसपछि सुरु गरे आफ्नो कर्मशील करियर ।

पहिलो करियरका रुपमा मिडियासँगै भएर होला, मेघेन्द्र सधैं मिडिया मैत्री नै बने । ‘योङ हेराल्ड’बाट करियर सुरु गरेका गिरीले ‘नेपाल टोबाको’ हुँदै ‘कैलाश चिया’लाई आफ्नो कर्मथलो बनाए । ‘मुड फ्रेस तुरुन्तै’ स्लोगनसहित बजारमा नयाँ आएको कैलाश चियालाई स्थापित गरेरै छाडे- मुडी मेघेन्द्रले ।

भर्सटाइल स्वभावका मेघेन्द्र फरक–फरक कम्पनीमा काम गर्नु आफ्नो रुचीअनुसार कला र सिर्जनामा अभ्यस्त हुन थाले । फलस्वरुप पशुपति पेन्ट्सको ‘खुसीका रङहरु’, चाचान ग्रुपको त्रिशक्ति सिमेन्टका लागि ‘पुस्तौं पुस्ताका लागि’ उनले नै जन्माएका सिर्जना हुन् ।

करियरकै क्रममा मिडिया, बैंक र इन्स्योरेन्स मार्केटिङ जस्तो फरक–फरक विधालाई अंगालेका मेघेन्द्रले ‘जहाँ जान्छ त्यहाँ खान्छ’, छविको विकास गरे ।

करियर बनाउने क्रममा कान्तिपुर टिभीको मार्केटिङ सेक्सनलाई हाँकेका मेघेन्द्रले १२ वर्षको मिडिया मार्केटिङपछि बैंकिङ सेक्टरलाई छाने, फलस्वरुप सफल पनि भए । कान्तिपुरलाई मिडिया सेक्टरको शिखरमा पुर्याइसकेपछि फरक क्षेत्र बैंकिङ क्षेत्र रोजेका मेघेन्द्र एनआईसी एशिया बैंकबाट आफ्नो परिक्षा आँफैंले लिए । जसको नतिजा अहिलेको एनआईसी एशिया बैंकले देखाएको छ ।

एनआईसी एसिया बैंकको आक्रामक बजारनीति बैंकिङ क्षेत्रको कोशेढुंगा नै मान्न सकिन्छ । २ वर्ष एनआईसी एशिया बैंकलाई जनताको बैंक बनाउन महत्वपूर्ण भूमिका खेलेका मेघेन्द्रले ‘हाम्रो समुन्नति राष्ट्रकै उन्नति, आजैदेखि बचत गरौं है साथी’ लाई ब्रान्डको रूपमा स्थापित गरिदिए ।

नेपाल लाइफको शानदार जागिरपछि अब मेघेन्द्रले आफ्नो सिप र दक्षतालाई कहाँ प्रयोग गर्दैछन्, त्यो गर्भकै विषय रहेको छ अहिलेसम्म । तर उनी त्यतिकै बस्ने मानिस होइनन् । उनको नेपाल लाइफसँग सम्बन्धको अन्त्य हुनु भनेको भविष्यमा नेपालमा अर्को कम्पनी नम्बर १ पुग्नु हो । उनी साथै उनको गन्तव्यलाई हार्दिक शुभकामना !

दुई बर्षकै बैंकिङ करियरबाट इन्स्योरेन्सको दुनियाँमा हाम फालेका मेघेन्द्रले नेपाल लाइफलाई ‘एक नम्बरको इन्स्योरेन्स’मा स्थापित गरिदिए । उनी ‘जहाँ जान्छन् एक नम्बर बनाएरै छाड्छन्’ भन्ने कुरालाई पुष्टी गर्ने, कान्तिपुर पब्लिकेशन, एनआईसी एसिया बैंक र नेपाल लाइफ अनि मेघेन्द्र आँफैं उदाहरणीय ब्रान्ड हुन् ।

आज अर्थात् असार ३१ गतेदेखि नेपाल लाइफमा ४० महिनाको कर्मथलोबाट बिदा लिएका मेघेन्द्रले आगामी योजनाको बारेमा भने खुलाउन चाहेनन् । फुर्सदमा बस्न नरुचाउने मेघेन्द्र नेपाल लाइफबाट अलग हुने घोषणासँगै पछिल्ला समय केही ‘नयाँ’ मा घोत्लिएर दिनहरू बिताउने गरेको बताउँछन् ।

भर्सटाइल एवं क्रियटिभ माइन्डका धनी मेघेन्द्र आफूलाई गीतकार, गायक, संगीतकार, अभिनेता, मोडल, लेक्चरर, विज्ञापन निर्माता, निर्देशकका रूपमा चिनाउने प्रयास गरेका छन् । आफ्नै शब्द र स्वरमा दुईवटा गीतलाई बजारमा ल्याएका मेघेन्द्रको गत तिहारको बेला नेपाल लाइफका लागि गरेको सिर्जना अर्को उदाहरणीय सिर्जना हो । जुन सिर्जनाले संगीतको माध्यमबाट कर्पोरेट कल्चरलाई संगीतसँग जोडेको थियो । उनी आफू आबद्ध संस्थाको मात्र नभएर आफ्नै ब्रान्ड बनाइसकेका छन्, ‘कम्पनीमा मेघेन्द्र’ भन्दा पनि ‘मेघेन्द्र यो कम्पनी’मा भन्ने अवधारणालाई स्थापित गर्न सफल छन् ।

नेपाली स्थापित कम्पनीहरुमा ‘कि फ्याक्टर’ दुई छोराका बाबु मेघेन्द्र अहिलेसम्म भाडाकै घरमा बस्दै आएका छन् । ‘जीवनलाई सुखीभन्दा पनि खुशीसँग बिताउनुपर्छ,’ भन्ने मान्यतामा अडिग छन् मेघेन्द्र । त्यसैले बिन्दास छन्, अहिलेसम्म । उनको नदेखिएको अर्को पाटो भनेको लङ टेनिसका गज्जबका खेलाडी हुन्, जो विभिन्न प्रतियोगिताहरुमा सहभागी पनि हुने गर्दछन् । खानपानमा सौखिन मेघेन्द्र कर्मथलोमा उनको दत्तचित्तता नै पारिवारिक दायित्वबोधको द्योतकका रुपमा देखिन्छ ।

धर्मकर्ममा विश्वास गर्ने मेघेन्द्र धर्म नै सबै कुरा होइन भन्ने कुरामा अडिग छन् । मन्दिर जानु उनको नियमितता नभए पनि भगवान् सम्झनु भने उनको दैनिकी नै हो ।

नेपाल लाइफको शानदार जागिरपछि अब मेघेन्द्रले आफ्नो सिप र दक्षतालाई कहाँ प्रयोग गर्दैछन्, त्यो गर्भकै विषय रहेको छ अहिलेसम्म । तर उनी त्यतिकै बस्ने मानिस होइनन् । उनको नेपाल लाइफसँग सम्बन्धको अन्त्य हुनु भनेको भविष्यमा नेपालमा अर्को कम्पनी नम्बर १ पुग्नु हो । उनी साथै उनको गन्तव्यलाई हार्दिक शुभकामना !