उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने तयारी, प्रजिअको बैठक बस्दै



काठमाडौं – नेपालमा पुनः कोरोनामुक्त हुने भन्दा संक्रमितको संख्या बढ्दै गइरहेका बेला काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः १५ दिन थप्ने तयारी भएको छ ।

उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा छलफल गर्न आज (बिहीबार) तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकमा छलफल हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । दिउँसो १ बजेपछि बसिने बैठकमा लामो दूरीका यातायात पनि खोल्ने कि भन्ने विषयमा पनि छलफल हुने उनले जानकारी दिए ।

‘छलफल चाहिँ लामो दूरीका यातायात खुला गर्ने विषयमा पनि गर्छाैं,’ प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, ‘तर १५ दिन अहिलेकै जस्तो गरी निषेधाज्ञा लम्बिने सम्भावना बढी छ ।’ उनका अनुसार लामो दूरीका यातायात खोल्ने कि नखोल्ने भन्ने विषयमा स्वास्थ्यकर्मी, ट्राफिक प्रहरीलगायत सरोकारवालासँग परामर्श गरिने छ ।

‘तर लामो दूरीका सवारीसाधन खोलिने सम्भावना म कम देख्छु’ उनले भने, ‘यो कुरा चाहिँ बैठकमै गएपछि थाहा हुन्छ ।’ यता ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले पनि अब १५ दिन निषेधाज्ञा थप्ने र लामो दूरीका यातायात पनि खुला गर्ने सरसल्लाह भइरहेको बताएका छन् ।

‘लामो दूरीका गाडी पनि खोल्ने कि भन्ने विषयमा मैले हिजो (बुधबार) मन्त्री ज्यूसँग कुरा राखेको छु, यात्रुलाई सास्ती भयो, विभिन्न बहानामा बढी भाडा असुल्ने काम भइरहको छ, त्यसैले जोर–बिजोर गरेर लामो दूरीका यातायात पनि खोल्नुपर्ने हो कि भनेर मैले कुरा राखेको छु,’ प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘तर यो त बाहिरी जिल्लासँग सम्बन्धित कुरा भयो, यो विषयमा त सीसीएसमीले नै निर्णय गर्ने हो, अब के गर्ने भन्ने विषयमा आज छलफल गर्छाैं ।’

उपत्यकाभित्र भने सार्वजनिक यातायात यस अघिदेखि नै सञ्चालनमा आइसकेको छ । यसअघि थपिएको निषेधाज्ञाको अवधि आज (असार ३१ गते) राति १२ बजेबाट सकिँदै छ । कोरोना महामारी नियन्त्रणका लागि भनेर काठमाडौं उपत्यकामा गत वैशाख १६ गते निषेधाज्ञा शुरु गरिएको थियो । पटक–पटक अवधि थपेर यो लम्ब्याउने क्रम जारी छ । तर क्रमशः खुकुलो पारिएको छ ।