कांग्रेस नेतृत्वको दाबी गर्दै छलफल सुरु, संस्थापन इतरको एक उम्मेदवारमा जोड

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा भावी नेतृत्वका लागि कसरत शुरु भएको छ ।

महाधिवेशनमा उम्मेदवारी दिने तयारीका साथ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यले आसन्न  महाधिवेशनको तयारी र नेतृत्वको तयारी सम्बन्धमा छलफल गरेका छन् ।

भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला तथा नेता प्रकाशमान सिंह, डा रामशरण महत, अर्जुननरसिंह केसी, डा शेखर कोइराला, सुजाता कोइरालालगायत करीब २५ पदाधिकारी तथा केन्द्रीय सदस्य सहभागी थिए । संस्थापन इतर समूहका लगभग उनीहरु सबैले आफूलाई सभापतिको उम्मेदवारीमा दाबी गर्दै आएका छन् । यद्यपि सहमतिका आाधारमा एक मात्र उम्मेदवार बनाउन सकिए कतिपय नेताहरुले पछि हट्न सकिने बताएका थिए ।

भेलामा  अधिकांश केन्द्रीय सदस्यले सो समूहबाट सभापतिमा सहमतिका आधारमा एक मात्र उम्मेदवार हुनुपर्नेमा जोड दिएको केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिए। पार्टीको क्रियाशील सदस्यता छानबिन समितिले गरिरहेको कामका बारेमा भेलामा समीक्षा हुनाका साथै भावी नेतृत्वमा सहमतिको प्रयासलाई जारी राख्नुपर्नेमा जोड दिइएको थियो ।

कांग्रेसको यही असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिले बैठकले  महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको छ । सो निर्णयपछि सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः उम्मेदवारी दिने तयारीका साथ आफू निकट पदाधिकारी र केन्द्रीय सदस्यसँग चरणबद्ध रुपमा छलफल थालेका छन् । पछिल्लो पटक सभापति देउवा निकट मानिनुभएका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने तयारी थालेका छन् ।

संशोधित कार्यतालिकानुसार गाउँ÷नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ÷नगरपालिका  अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते तथा प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

त्यस्तै क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि असार २० गतेभित्र र क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि असार ३० गतेभित्र तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *