महामारीमा भोका र पीडितको सहारा बन्दै हनुमानढोका सहकारी



काठमाडौं । कोरोना संक्रमणको महामारीको यस परिस्थितिमा हनुमानढोका बहुउद्देश्यीय सहकारी संस्थाले उपत्यकाका विभिन्न क्षेत्रमा खाना तथा खाद्य सामाग्री वितरण गर्दै आएको छ । संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै कोरोनाको दोस्रो लहरसँगै उपत्यकाका विभिन्न स्थानमा भोकै रहेकाहरुलाई निःशुल्क रुपमा खाना, पानीका साथै खाद्य सामाग्री वितरण गर्दै आएको हो ।

कोभिड–१९ रोकथाम तथा न्यूनीकरणका लागि स्थानिय सरकारले जारी गरेको निषेधाज्ञाको घोषणासँगै कामबिहीन बनेका विपन्न बगका भोकाहरुका लागि साहार बनेको उक्त सहकारी संस्थाले कोरोनाको पहिलो लहरमा पनि खाद्यान्नहरु वितरण गरेको थियो ।

उक्त सहकारीले प्रत्येक दिन ३ सय जनालाई खाना तथा पानी वितरण गर्दै आइरहेको एचडी समुहका अध्यक्ष अश्मी लाल भट्टराईले जानकारी गराए ।

यस संस्थाले काठमाडौंको परोपकार, ढल्कु, पचली, न्यूरोड महांकाल, स्वयम्भू, भद्रकाली लगायतका स्थानहरूमा पनि खान , पानी तथा अन्य खाद्यान्न सामाग्री वितरण गर्दै आइरहेको अध्यक्ष भट्टाराईले बताए ।

समस्यामा रहेका व्यक्ति तथा संस्थाको फोन सम्पर्क मार्फत समस्यामा परेकाहरुलाई चामल, नुन, तेल लगायत खाद्यान्न समेत घरघरमा पुर्याउँदै आइरहेको उनले बताए ।

यस सहकारी संस्थाले गतसाल कोरोना महामारीको शुरुवाती अबस्था देखि नै काठमाण्डौ तथा काठमाण्डौ बाहिरका विभिन्न स्थानहरूमा मास्क, पिपिई सेट, थर्म गन, स्यानिटाईजरजस्ता सामग्रीहरू वितरण गर्दै आईरहेको थियो भने भुकम्प पीडित र बाढी पिडितहरु लाई पनि विभिन्न समयमा सहयोग गर्दै आइरहेको छ ।

वितरण गरिने खानाको गुणस्तरलाई मध्यनजर गर्दै ८ जनाको समूह बनाएर आफैं खाना पकाएर बाँडिदै आएको पनि भट्टराईले बताए । निषेधाज्ञाका कारण मानवीय चहलपहलको कमीका कारण खाना नपाएका सडकका पशुका साथै सो क्षेत्रमा रहेका बाँदरलाई पनि खाना उपलब्ध गराइँदै आएको जनाइएको छ ।