ज्योति लाईफको आइपिओमा नयाँ रेकर्ड, १८ लाख बढीको आवेदन



काठमाडौं । पछिल्ला दिनमा सर्वसाधारणहरु शेयरबजारमा अत्याधिक रुचि देखाएका छन् । जसको फलस्वरुप भर्खरैमात्र आईपीओ निकालेको ज्योति लाइफ इन्स्योरेन्समा आवेदनको रेकर्ड ब्रेक भएको छ ।

इन्स्योरेन्सको प्रबन्धक एनएमबी क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ । आइपिओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार ७१० कित्ता बराबरको आवेदन परेको छ ।

आइपिओमा आवेदन सर्वसाधारणलाई निष्काशनमा ल्याइएको ५९ लाख ४० हजार कित्ताको ६.४० गुणा बढी परेको छ ।

कम्पनीले यही फागुन २१ गते देखि कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् रु ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता कर्मचारी र अर्को पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता सामूहिक लागनी कोषलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणका लागि निष्काशनमा ल्याएको थियो ।

अहिले कम्पनीको अधिकृत पूँजी रु तीन अर्ब, जारी पूँजी रु दुई अर्ब २० करोड र चुक्ता पूँजी रु एक अर्ब ५४ करोड छ । सर्वसाधारणलाई आइपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी रु दुई अर्ब २० करोड पुग्नेछ ।