मुग्लिन–नारायणघाट सडकः पहिरो हटाउन आज दिनभर लाग्ने, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
काठमाडौं । मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने भएको छ। मंगलबार दिउँसो झरेको पहिरो पन्छाउन बुधबार दिनभर जस्तो लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार बिहानै सूचना सार्वजनिक गर्दै जानकारी गराएको हो।
मंगलबार दिउँसो गएको पहिरो पन्छाउन समय लाग्ने जनाइएको छ। ‘तुइन खोलाको पुल नजिकै हिजो दिउँसो ४ः५० बजेतिर गएको ठुलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द हुन पुगेको छ’, सूचनामा भनिएको छ, ‘पहिरो पन्छाउनको लागि आज दिनभरजसो लाग्ने भएकोले उक्त सडक प्रयोग गर्नुहुने सम्पूर्ण सवारीधनी एवं यात्रु महानुभावलाई वैकल्पिक सडक प्रयोग गरिदिनुहुन अनुरोध गर्दछौं।’
तुइन खोलमा पहाडै खसेपछि एक सातादेखि नै उक्त सडक अवरुद्ध हुँदै आएको छ। सडक अवरुद्ध हुँदा दशैँ मनाउन हिँडेका लाखौं यात्रु बाटोमै अलपत्र परेका छन्।
यस्ता छन् वैकल्पिक सडकका रूटः
१, चितवनबाट काठमाडौं आउजाउ गर्नका लागि (साना गाडी मात्रै) चितवनको जुटपानी, शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न सकिने छ ।
२, धादिङको नौबिसेबाट मकवानपुरको हेटौंडा निस्कने त्रिभुवन राजपथको बाटोलाई वैकल्पिक सडकको रूपमा प्रयोग गर्न सकिने प्रशासनले जनाएको छ ।
३, मकवापनुरको हेटौंडाबाट भैंसे, भीमफेदी, कुलेखानी, सिस्नेरी हुँदै दक्षिणकालीको बाटो भएर काठमाडौं आउन सकिने छ ।
४, हेटौंडा-काठमाडौं आउजाउ (ठूला सवारीसाधन मात्र) गर्नका लागि कान्तिलोकपथ प्रयोग गर्न सकिने छ ।
५, चितवनबाट पोखरा जानका लागि ठूला तथा साना दुवै सवारीसाधन बुटवल हुँदै पोखरा जान सकिने प्रशासनले जनाएको छ ।
६,चितवनबाट कालीगण्डकी करिडोरको बाटो (सानो गाडी मात्रै) गैंडाकोटबाट डेढगाउँ हुँदै तनहुँको भिमादबाट खैरेनीटार निस्कन सकिनेछ ।
