३६ घण्टादेखि नारायणगढ–मुग्लिन खुल्ने अनिश्चित, वैकल्पिकका रूपमा भिमाद-डेढगाउँ गैंडाकोट निस्कन सकिने

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक पहिरो खस्ने क्रम नरोकिएकोले यो सडक सञ्चालन अनिश्चित बनेको छ ।

३६ घण्टादेखि अवरुद्ध रहेको सडकखण्डको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरुआत गरिए पनि पहिरो खस्ने क्रम नरोकिएकोले समस्या भएको हो ।

पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसिरहेकाले पन्छाउन समय लागेको डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिए ।

उनका अनुसार पहिरो पन्छाउनका लागि मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुईवटा उपकरण प्रयोग गरिएको छ ।

रातका समयमा काम गर्न कठिन हुने भएकाले शनिबार साँझदेखि आज बिहानसम्म पहिरो पन्छाउने काम रोकिएको थियो ।

करिब ७० मिटरमाथिबाट खसेको पहिरोका कारण एक सय ६० मिटर सडक ढाकेको छ भने १० मिटर चौडाइ र १६ मिटर उचाइ रहेको थियो ।

पहिरोका कारण सडकमा शुक्रबारदेखि यात्रु तथा सवारीसाधन अलपत्र परेका छन् । यो सडकमा दैनिक १० हजार बढी सवारीसाधन आवतजावत हुने गर्छ । यस सडक भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ ।

नौबिसे–दामन–हेटौँडा र ।मुग्लिन–भिमाद–डेढगाउँ–गैँडाकोट (कालीगण्डकी करिडोर)बाट गन्तव्यमा पुग्न सकिने सडक डिभिजनले बताएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *