संसदमा नेम्बाङको प्रश्न- नागरिकले वर्षौं कुर्दा पनि लाइसेन्स पाएका छैनन्, इम्बोस्ड नम्बर प्लेट किन?

काठमाडौं – नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य रोक्न माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यो विषय जनतासँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएकोले अगाडि नबढाउन माग गरेका हुन् ।

नेम्वाङले भने- ‘सरकारले तत्काल इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन स्थगित गरी आवश्यक पूर्वाधार, प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अघि बढाइयोस् । इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनले जनतालाई थप सास्ती, हैरानी र झन्झट मात्र बढाएको छ । गाडी किन्ना साथ उच्च कर, हरेक वर्ष अनिवार्य बीमा, सडक कर तिर्न लामो लाइन, र लाइसेन्स बनाउन फारम, परीक्षा र लामो प्रतीक्षा ।’

इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनले जनतालाई थप सास्ती, हैरानी र झन्झट मात्र बढाएको उनले बताए ।

उनले भने- ‘यहाँ जनताको तहबाट प्रश्नहरू उठेका छन्- इम्बोस्ड नम्बर प्लेटको उद्देश्य के हो ? के हामीसँग पर्याप्त प्रविधि, सेवा केन्द्र र जनशक्ति छन् ? जब हजारौँ नागरिकले वर्षौं कुर्दा पनि लाइसेन्स पाएका छैनन्, कर तिर्न दिनभर लाइन बस्नुपरेको छ । यस्तो अवस्थामा इम्बोस्ड नम्बर प्लेट किन अनिवार्य गरिँदैछ ?’

सवारी प्रयोग गर्ने आम जनतामाथि पहिले नै धेरै भार भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *