देश रोएको दिन अर्थात् भदाै १६, इराकमा १२ नेपालीको हत्या गरिएको कालो दिन !

काठमाडौं । आज भदौ १६ अर्थात् १२ जना नेपालीले इराकमा आतंकवादी इस्लामिकको आक्रमण परी ज्यान गुमाएको दिन । वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ जना नेपालीको विभत्स हत्या भएको २१ वर्ष पूरा भएको छ ।

वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ नेपालीको आतंकवादी इस्लामिक संगठनले विभत्स हत्या गरेपछि नेपालमा २०६१ साल भदौ १६ अर्थात आजकै दिन आफन्त र सर्वसाधारणले वैदेशिक रोजगारीमा पठाउने म्यानपावर लगायतमा आक्रमण गरेका थिए ।

उक्त हत्याकाण्ड पनि राजधानीको अवस्था तनावग्रस्त बनेको थियो । ठाउँ-ठाउँमा आन्दोलन भएका थिए । विभिन्न म्यानपावर, सञ्चारगृह, धार्मिक प्रतिष्ठानमा आक्रमण भएका थिए ।

के थियो घटना?

२०६१ साल भदौ ४ गते १२ जना नेपाली खाना पकाउने तथा सरसफाइ सम्बन्धी कामका लागि जोर्डन हुँदै इराक प्रवेश गरेका थिए । तर उनीहरु आतंकवादी संगठन इस्लामिक समूह अन्सर अल सुन्नाको अपहरणमा परे ।

कामको खोजीमा इराक पुगेका उनीहरुले अन्सर अल सुन्नाले अपहरण गरेको र उनीहरुले आफ्नो जीवन बचाउनका लागि नेपाल सरकारसँग आग्रह गरेको भिडियो क्लिप बाहिरिएको थियो ।

अपहरणमा परेका आफ्ना नागरिकको मुक्तिका लागि नेपाल सरकार र परराष्ट्र मन्त्रालयले इराकी सरकारमार्फत लगातार अपिल गरिरहे का थिए । तर भदौ १५ गते साँझ टाउको काटि र गोली हानी हत्या गरिएका १२ जना नेपालीको मृत शरीरको भिडियो क्लिप सार्वजनिक भयो ।

उक्त भिडियो सार्वजनिक भएको केही क्षणमा नै देशभर फैलिएको थियो । त्यो हृदयविदारक भिडियो सार्वजनिक भएसँगै भदौ १६ गते अर्थात आजको दिन काठमाडौं उपत्यकामा स्वत स्फूर्त रुपमा मानिसहरु सडकमा आए र हत्या काण्डको विरोध गरे ।

उनीहरुले सरकारको आलोचना गरे र विदेश पठाउने म्यानपावर कम्पनीमाथि आफ्नो रिस पोखे । त्यसक्रममा राजधानीमा रहेका अधिकांश जसो म्यानपावर कम्पनीमाथि आक्रमण भएको थियो भने सञ्चार गृहमा समेत तोडफोड भएको थियो ।

आक्रोशित बनेका आन्दोलनकारीले एकाएक राजधानी उपत्यकास्थित मुस्लिम समुदायको पवित्र स्थान, पवित्र वस्तु लगायत व्यक्ति व्यक्तिमाथि आक्रमण गर्न थाल्यो ।

धर्मगुरूदेखि व्यापारी समुदाय र गृहिणीहरूसम्म आक्रमणको तारो बने । त्यतिबेला सञ्चालमा रहेका दुई राष्ट्रिय दैनिक स्पेसटाइम दैनिक र कान्तिपुरमाथि पनि आक्रमण गरिएको थियो । सोही आक्रमणपछि स्पेसटाइम दैनिक सधैंका लागि बन्द भएको थियो ।

कामका लागि विदेशिन बाध्य निर्दोष नेपालीले भोग्नु परेको उक्त विभत्स घटना आजका दिनसम्म पनि बिर्सिएका छैनन् अनि कहिल्यै भुल्ने पनि छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *