सशस्त्र असई थमन विकको हत्याका आरोपी यादव कांग्रेस प्रवेश

काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका फरार प्रतिवादी देवेन्द्र यादव नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते आन्दोलनकारीले ड्युटीमा रहेका असई विकको हत्याको आरोपमा खोजीको सूचीमा रहेका यादवलाई कांग्रेस सभापति शेरबहादुर देउवाले सदस्यता दिँदै पार्टीमा स्वागत गरेका छन् । उनको पार्टी प्रवेश कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेताहरुको सहभागिता रहेको थियो ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, महोत्तरी–४ का प्रतिनिधि सभा सदस्य महेन्द्रकुमार राय, कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादव र कांग्रेस महोत्तरी सभापति नागेश्वर यादवलगायत उपस्थित कार्यक्रममा नै प्रतिवादी देवेन्द्रलाई स्वागत गरिएको थियो।

महोत्तरी जिल्ला अदालतले प्रतिवादी यादवको मुद्दा मुलतवीमा राखेको छ। विकको हत्यामा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते ७ जनालाई जन्मकैदको सजाय सुनाएको थियो।

राजनीतिक दलका नेतृत्वहरुलाई आपराधिक पृष्ठभूमीका मानिसलाई जोगाएको आरोप लाग्ने आईरहेको छ । यसअघि पनि अफताब आलमलाई पनि जोगाएको आरोप लागेको थियो यद्यपि उनले अदालतको आदेशबाट सफाइ पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *