रविको थुना सदर, थुनामै राख्ने अदालतको आदेश
काठमाडाैं । रास्वपाका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश जारी भएको छ ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् ।
लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते सोमबार निवेदन दिएका थिए । लामिछाने थुनामुक्त गर्न माग गरी दिएको निवेदनमाथिको बहस सोमबार भएको हो । सोमबारको पेशीका लागि न्यायाधीश नारायणप्रसाद सापकोटाको १० नम्बर इजलासमा परेको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदालतको आदेशलाई उनको सर्वोच्च अदालतले पनि सदर गरेको छ। लामिछाने चैत २२ गते नै काठमाण्डौंबाट पक्राउ परेपछि त्यसयता जिल्ला कारागार भैरहवामा छन् ।
