निर्मला पन्त प्रकरणः नयाँ शिराबाट अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले ७ वर्ष अगाडी बलात्कार पछि भएको हत्या प्रकरणमा नयाँ शिराबाट अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०लाई निर्देशन दिएका छन् ।
आइतबार सिआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सूक्ष्म रूपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । उनले निर्मला प्रकरणको अनुसन्धानमा कुनै कसर बाँकी नराख्न सिआइबीलाई निर्देशन दिएका छन् ।
‘निर्मला पन्त लगायत ब्युरोले अनुसन्धान गरिरहेको सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु ।’ गृहमन्त्री लेखकले भने, ‘नेपाल प्रहरीभित्र पनि सिआइबीप्रति आमजनताको भरोसा बढेको, यसलाई अटल राखेर काम गर्नुपर्छ ।’
उनले सीमित स्रोत साधनका बिच प्रहरीमा सिआइबीले कार्यसम्पादनमा सफलता हासिल गर्दै गएकोप्रति खुसी व्यक्त गर्दै मन्त्री लेखकले सिआइबीलाई साधन स्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको बताए ।
वि।सं। २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो ।
