फेरि देखियो कोरोना, काभ्रेका ६ सहित ७ जनामा कोरोना पुष्टी



काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेपछि नेपालमा पनि सतर्कता अपनाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो परीक्षणमा ७ जनामा कोरोना पुष्टि भएको छ।

महाशाखा निर्देशक डा. चन्द्रबल झाका अनुसार १ जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र ६ जना काभ्रेपलाञ्चोकमा संक्रमण देखिएको हो। काभ्रेका संक्रमितहरू स्थानीयस्तरमै संक्रमित भएको अनुमान गरिएको छ।

संक्रमित सबै सामान्य अवस्थामा रहेको र नियमित परीक्षणमै पुष्टि भएको जनाइएको छ। अहिलेसम्म संख्यात्मक वृद्धि नभएकाले जिन सिक्वेन्सिङ गरिएको छैन।

भारतमा संक्रमण बढेपछि नेपालले सीमा नाका र विमानस्थलहरूमा हेल्थ डेस्क राखेर सतर्कता बढाएको छ। सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

डा. शेर बहादुर पुनका अनुसार अहिले देखिएको कोरोना कडा प्रकृतिको छैन तर वृद्धवृद्धा र दीर्घ रोगीहरूले सतर्कता अपनाउनु पर्नेछ। स्वास्थ्य विज्ञहरूले मास्कको प्रयोग, हात सफाइ र भीडभाडबाट जोगिन सुझाव दिएका छन्।