एआईजी आचार्यको भव्य बिदाई



काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापा (आईजी)ले प्रहरी सेवाबाट हालै सेवा निवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणी आचार्यलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम बिच बिदाइ गरेका छन् ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै आईजी थापाले सेवा निवृत्त भएका एआईजी आचार्यले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको चर्चा गरेका थिए ।

सो अवसरमा आईजी थापाले सेवानिवृत्त भएका एआईजी आचार्यलाई मायाको चिनो प्रदानसमेत गरेका थिए ।

कार्यक्रममा सेवा निवृत्त भएका आचार्यले आफ्नो सेवा अवधिमा गरेका अनुभव सहितको मन्तव्य व्यक्त गरेका थिए ।

सेवा निवृत्त भएका आचार्य २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए भने प्रहरी अतिरिक्त महानिरीक्षक आचार्य उमेर हदका कारण जेठ १० गतेबाट सेवा निवृत्त भएका हुन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।