नाथमको उत्कृष्ट शिक्षाको नमूना, प्रिज्माले पाइन् फ्रान्समा साढे ३ लाखको जागिर

काठमाडौं । ललितपुर, ग्वार्कोकी प्रिज्मा पौडेलले इन्टर्न गरेकै होटलमा साढे तीन लाखको जागिर पाएकी छिन् । स्विट्जरल्यान्डको सीमानजिक पर्ने फ्रान्सेली सहर एनेसीमा अवस्थित पाँचतारे लक्जरी प्यालेस होटल ‘प्यालेस डे मेन्थन’ मा जागिर पाएकी हुन् ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बाट होटल व्यवस्थापनमा स्नातक (बीएचएम) गरेकी ललितपुर पौडेलले इन्टर्न गरेर फर्किएको १५ महिना पनि जागिर पाएकी हुन् । विद्यालय शिक्षा पूरा गरेपछि पौडेल ६ वर्षअघि नाथममा भर्ना भएकी थिइन्। नाथम नेपाल सरकारकै पर्यटन मन्त्रालय मातहतको कलेज हो ।

४ वर्षे (८ सेमेस्टर) ब्याचलर्स डिग्रीका लागि ५ सेमेस्टर पढिसकेपछि छैटौँ र सातौँ सेमेस्टरका लागि इन्टर्न गर्न फ्रान्स पुगेकी थिइन् । एक वर्षको इन्टर्न सकेपछि नेपाल फर्किन् र आठौँ सेमेस्टर पूरा गरिन्। उनी इन्टर्न गर्न फ्रान्सको जुन होटलमा पुगेकी थिइन्, अहिले सोही होटलले उनलाई जागिर दिएको हो ।

‘फ्रान्स–नेपाल विद्यार्थी गतिशीलता कार्यक्रम’मार्फत इन्टर्नका लागि फ्रान्स पुगेकी थिइन् । यो कार्यक्रम तीन वर्षअघि मात्र सुरु भएको हो। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र नाथमका कार्यकारी निर्देशक राजेश उप्रेतीको फ्रान्स भ्रमणपछि यस कार्यक्रमले आफ्नो यात्रा तय गरेको थियो, जुन नाथमअन्तर्गत सञ्चालित छ।

तालको शान्त किनार र रमणीय पार्कको बीचमा अवस्थित यस लक्जरी होटलमा प्रिज्माले काम पनि सुरु गरिसकेकी छन्, जहाँ उनले यहाँका प्रसिद्ध कार्यकारी सेफ फ्रेडरिक डेलोर्मेसको विशेषज्ञ मार्गदर्शनमा रहेर काम गर्नेछिन्।

सुरुआती तलब झन्डै साढे तीन लाख रुपैयाँ पाउने गरी काम सुरु गरेकी प्रिज्माले डेमी सेफ डे पार्टीको रूपमा रहेर काम गर्नेछिन्, जहाँ उनको मुख्य जिम्मेवारी स्टाटर सेक्सन रहेको छ। उनका अनुसार यो भनेको रेस्टुराँले दिने सेवामा पहिलो कोर्स हो। उनले यहाँ हप्ताको ३९ घण्टा काम गर्नुपर्नेछ। तलब सुविधाबाहेक उनले पहिलो ६ महिनाका लागि आवासीय सुविधा पनि पाउनेछिन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *