सेनाका जवान गौरसिंहले किन लगाए आफ्नै घरमा आगो ?

आगलागीबाट कुकुरसहित ११ पशु मरे



दार्चुला । नेपाली सेनामा कार्यरत एक जवानले आफ्नै घरमा आगो लगाएका छन् ।

दार्चुलाको महाकाली नगरपालिका वडा नं. ३ घर भई हाल नेपाली सेनामा कार्यरत गौर सिंह महराले घर बिदामा आएको बेलामा आफ्नै घरमा आगो लगाउँदा लाखौंको क्षति भएको हो ।

महराले ढुङ्गा र काठले बनेको दुई तले, ६ कोठाको घरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिए ।

आगलागीबाट घरका साथै गोठमा रहेका २ वटा गाई, ३ बाच्छा, ३ बाख्रा, एउटा बोका र २ कुकुर गरि ११ पशुचौपाया मरेको प्रहरीले जनाएको छ । घटनाबारे बिहान मात्रै खबर आएको र बिहानै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी र नेपाली सेनाको टोली खटिएको प्रहरी निरीक्षक रावतले बताए ।

आगलागीबाट घरमा भएका लत्ताकपडा, अन्नपात लगायत सबै समान जलेर नष्ट भएको छ । घरमा आगजनी गर्ने महरालाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।