जिल्लाबासीका लागि मन्त्री खड्काको सार्थक पहल, खाँदबारी–किमाथाङ्का सडक ‘ब्रेक थ्रु’



काठमाडौं । संखुवासभा जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्ने एवं वर्तमान सरकारका उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जिल्लाबासीको हितका लागि गरेको पहलबाट जिल्ला एक कदम अगाडि सरेको छ ।

दुर्गम जिल्ला मानिएको संखुवासभाको किमाथांका हुँदै चीन जोड्ने सडकको ब्रेक थ्रु भएसँगै जिल्लाबासीले थप सुविधा पाउने भएका हुन् ।

जोगवनी नाकादेखि सङ्खुवासभाको किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको खाँदबारीदेखि किमाथाङ्कासम्मको सडक सोमबार  ‘ब्रेक थ्रु’ गरिएसँगै मन्त्री खड्काले गरेको लामोसमयदेखिको पहलले सार्थकता पाएको छ ।

सङ्खुवासभा सदरमुकाम खाँदबारीदेखि चीनसँगको उत्तरी सीमा नाका किमाथाङ्कासम्म पर्ने एक सय ५८ किलोमिटर सडकको ट्र्याक खन्ने काम सम्पन्न भएसँगै उक्त सडकको आज ‘ब्रेक थ्रु’ गरिएको हो । खाँदबारी–किमाथाङ्का सडकअन्तर्गत च्याम्ताङ्गदेखि घोङघोप्पासम्मको साढे १० किलोमिटर सडकको चट्टानसहितको भीर नेपाली सेनाले फुटाएर ट्र्याक खुलाएसँगै आज सङ्घीय सरकारका तीन मन्त्रीको उपस्थितिमा उक्त सडकको ‘ब्रेक थ्रु’ गरिएको हो ।

उक्त सडकको भोटखोला गाउँपालिका–१ च्याम्ताङमा सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिएको हो । उक्त सडकको ‘ब्रेक थ्रु’ सँगै भारतदेखि चीनसम्मको कोशी राजमार्गको ट्र्याक खोल्ने कार्यसँगै सडक स्तरोन्नति र चौडा बनाउने काम हुनेछ ।

यसअघि उक्त सडक ब्रेक थ्रु गर्न मन्त्री खड्काले निरन्तर पहल गर्दै आएका थिए । उनले गत पुस १२ गते रक्षामन्त्री राई र निर्माणमा संलग्न नेपाली सेनाको टोलीलाई भेटेर सडक चाँडो सम्पन्न गर्न ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा मन्त्री खड्काले खाँदबारी–किमाथाङ्का सडक जोडिएसँगै त्रिदेशीय पारवहनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले त्रिदेशीय नाका जोड्ने उक्त सडक सञ्चालनमा आएपछि नेपाल–भारत र चीनका साथै बङ्गलादेशले फाइदा लिनसक्ने उल्लेख गरे । सडक  स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गर्न मन्त्री खड्काले भौतिक पूर्वाधार मन्त्रालयलाई आग्रह गरेका थिए । किमाथाङ्का क्षेत्र हुँदै अरुण नदीको बहाव रहेकाले उक्त क्षेत्रमा अन्य जलविद्युत् आयोजना निर्माण गर्न सकिने मन्त्री खड्काको भनाइ थियो । “यो सडकको पहुँचमार्फत जलविद्युत् विकासमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने हुँदा यो शीघ्र सञ्चालन गर्न आवश्यक छ,” उनले भने ।

उक्त अवसरमा मन्त्री खड्काले सडक निर्माणका लागि नेपाली सेनाको कार्यको प्रशंसा गर्दै उक्त सडकका लागि बजेटका लागि निरन्तर पहल गर्ने समेत जनाए ।