मध्यरातमा युवकमाथि प्रहरीको बर्बर यातना, ‘पावर देखाउँछस् भन्दै बुटै-बुटले गोदे’ (भिडियोसहित)
काठमाडौं । आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिने उद्देश्यसहित खटिने नेपाल प्रहरीले ‘प्रहरी मेरो साथी’, ‘मुस्कानसहितको सेवा’ भन्ने नारालाई आत्मसाथ गर्ने मौखिक प्रतिबद्धता धेरै पुरानो होइन ।
तर त्यही नाराको उपहास गर्दै केही प्रहरी कर्मचारीहरु गुण्डा गर्दी शैलीमा नागरिकविरुद्ध उत्रिँदा पूरा संगठनकै प्रतिष्ठामा आँच आउने गरेको छ ।
यस्तै घटना हालै पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा देखिएको छ । मध्यरात सडकमा ड्युटीमा खटिएका एक प्रहरी कर्मचारीले एक सर्वसाधारणलाई गुण्डागर्दी शैलीमा मरणासन्न हुने गरी बुट प्रहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी जनताको सुरक्षा गर्ने भन्दा कुटपिटमै रमाउने गरेको स्पष्ट देखिएको छ ।
चितवनको घटना भनिएको उक्त भिडियोमा एक प्रहरीले एक युवकमाथि बुटले प्रहार गरी ढलाएर पुनः बुटै–बुटले प्रहार गरी मरणासन्न बनाएका छन् ।
भिडियोमा देखिएअनुसार प्रहरीले मोटरसाइकल चेकिङको क्रममा ती युवालाई बुटैबुटले प्रहार गरेको देखिएको छ । प्रहरीले रोकेपछि ती युवाले कसैलाई फोन गर्छु भनेपछि प्रहरी आक्रोशमा आई ती युवामाथि जाई लागेको देखिएको छ ।
ती प्रहरीले युवकलाई लातले हानेर ढलाइसकेपछि पनि लगातार आक्रमण गरिरहेका छन् । उनले अनुहारमा समेत बुटले प्रहार गरेका छन् भने लात हान्दै जिउमा समेत चढेका छन् । भिडियोमा सुनिएअनुसार ती प्रहरीले ‘कस्लाई फोन गर्छस् रे’ भन्दै बुट प्रहार गरिरहेका छन् । ती प्रहरीले युवकलाई कुटि रहँदा अन्य प्रहरी पनि मूकदर्शक जस्तै भएर बसिरहेको पनि भिडियोमा देखिएको छ ।
घटनामा युवक दोषी होलान् वा नहोलान् तर प्रहरीले देखाएको बर्बरता ज्यादै घृणायोग्य छ । ती युवकले फोन गर्छु भन्दैमा ‘पावर देखाएको भन्दै’ मरणासन्न हुने गरी कुट्नु नै पर्ने थियो वा थिएन, ती प्रहरीलाई थाहा होला । मध्यरातमा जाडोमा ड्युटी गरिरहेका प्रहरीको यो कुटाई हेर्दा उनी पनि सही हालतमा छैनन् जस्तो देखिएको छ ।
संगठनले आफू मातहतका कर्मचारीलाई केही हदसम्म नैतिक शिक्षा दिनुपर्ने देखिन्छ । घटना चितवनको भनिए पनि ती प्रहरी को हुन् भन्ने स्पष्ट खुलि नसकेको अवस्थामा कमाण्ड गरेका प्रहरीले उनलाई पत्ता लगाएर दोषीलाई उचित कारबाही गर्नु अनिवार्य छ । यदि कुनै पनि नागरिकले बोलेकै भरमा प्रहरीको बुट सहनुपर्छ भने त्यो पक्कै पनि राम्रो होइन । घटनामा ती युवक दोषी हुन् भने प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारबाहीमा लैजान सक्थ्यो, तर त्यसको बदला बुटैबुटले हानेर मरणासन्न पार्नु हुने थिएन ।
यस किसिमको घटना आफूलाई सुरक्षा दिन खटिएको प्रहरीबाटै भोग्नुपरेपछि आम जनताले प्रहरीप्रति कसरी विश्वास गर्ने ? संगठनको एउटा खराब प्रहरीले संगठनकै प्रतिष्ठामा दाग लगाउनेमात्र नभई विश्वभर नै संगठनको बदनाम गर्न पुगेका छन् ।
यसका लागि उनलाई कमाण्ड गरिरहेका अधिकृतले घटनाबारे पूर्ण जानकारी गराएर दोषीलाई कारबाही नगरेसम्म संगठनप्रतिको आमनागरिकको धारणा सकारात्मक हुनसक्ने देखिँदैन भनेर कागजपत्रडटकमले प्रकाशित गरेको छ ।
भिडियोः