कोरोनामा खटिएका स्वास्थ्यकर्मीले पाएनन् तलब



काठमाडौं – कोरोना महामारीको समयमा प्रदेश २ का विभिन्न कोभिड अस्पतालमा करारमा खटाइएका कर्मचारीहरुले तलब भत्ता पाएका छैनन् । उनीहरुले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तलव भत्ता नपाएको गुनासो गरेका हुन् ।

प्रदेश २ का आठवटै जिल्लामा कोरोना महामारीको समयमा विज्ञापन गरी २०७७ असार मसान्तसम्मको नियुक्ति दिइ खटाइएका स्वास्थ्यकर्मीलाई आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकसम्मका लागि सेवा अवधि थप गर्ने निर्णयसहित प्रदेशको सामाजिक विकास मन्त्रालयले पत्र पठाएको थियो ।

तर थपिएको अवधिको तलब तथा भत्ता आफूहरुले अझैसम्म नपाएको पीडित कर्मचारीको गुनासो छ । आफ्नो तलबभत्ता भुक्तानीका लागि उनीहरुले सामाजिक विकास मन्त्री, राज्यमन्त्रीसहित मुख्यमन्त्री लालबाबु राउतलाई समेत भेटेर आग्रह गरे पनि अझैसम्म भुक्तानी पाउन नसकेको पीडित कर्मचारीमध्येकै एक डाक्टरले जानकारी दिएका छन् ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार ती स्वास्थ्यकर्मीको थपिएको चार महिनाको अवधिका सम्बन्धमा दरबन्दी प्रक्रिया नमिलेका कारण तलब भत्ता रोकिएको हो ।

नियमानुसार प्रदेश मन्त्रिपरिषदको बैठकले दरबन्दी सिर्जना गर्नुपर्ने भए पनि पूर्व निर्धारित दरबन्दीअनुसारको करार अवधि समाप्त भइसकेपछि थप गरिएको समयावधिका लागि मन्त्रिपरिषद बैठकले दरबन्दी अनुमोदन गरेको छैन ।