राजतन्त्र पुनर्स्थापनाका विषयमा प्रचण्ड र रविन्द्र मिश्रबीच छलफल



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

मंगलबार बिहान प्रचण्ड निवास पुगेर मिश्रले प्रचण्डलाई भेटेको मिश्रले जनाएका छन् ।

भेटका क्रममा देश विस्फोटनको अवस्थामा रहेको जानकारी गराएको मिश्रले बताएका छन् । र, त्यसलाई रोक्न राजतन्त्र पुनर्स्थापना गर्नुपर्ने भनाइ आफूले राखेको मिश्रले बताए ।

मिश्रले सामाजिक सञ्जालमा प्रचण्डसँगको भेटपछि सामाजिक सञ्जालमा बुँदागत रुपमा भेटमा भएको छलफलबारे लेखेका छन् ।

भेटमा प्रचण्डले भनेको उल्लेख गर्दै मिश्रले लेखेका छन्, ‘द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।’

उनले प्रचण्डले राजा महेन्द्र भिजनरी नेता रहेको जनाउँदै राजा ज्ञानेन्द्र २०६२र०६३ को आन्दोलन ताका अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुने प्रचण्डले महसुस गरेको कुरा उल्लेख गरेका छन् ।

उनी लेख्छन्–

हिजो कार्यक्रममा भेट भयो। आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो।

अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश विस्फोटनको अवस्थातिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईँहरूको अग्रगमन‘, नाम र सालिक केही बाँकी रहने छैन।” लामो व्याख्या सहित सारमा मैले यही भनेँ।

त्यसपछि उहाँका केही टिप्पणी अर्थपूर्ण लाग्यो:

१। यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोली प्रशिक्षणमा यही भनिरहेकोछु।

२। पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गग्जबका भिजनरीराजा रहेछन्।

३। द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।

४। राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो।

५। देशमा विदेशी हष्तक्षप चरम अवस्थामा पुगेको सही हो।

६। अहिले पो प्रधानमन्त्री भएँ। युद्ध गर्दा त मरिन्छ-बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो। अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन।

७। म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। निरन्तरतामा क्रमभंगताअत्यावश्यक भइसक्यो।

कौसीमा लामो संवाद गरेर तल ओर्लिंदा माओवादी पार्टीका दर्जनौँ साथीहरू प्रचण्डजीलाई पर्खेर बसिरहेका थिए।

सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए। तर गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा/बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौं नेपालीका प्रतिनिधि पात्र थिए। उनीहरूको जीवन पर्खिएरै वितिसकेको छ/वित्नेछ भन्नेमा संभवत: उनीहरू अनभिज्ञ थिए।

म चाहिँ ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छुभने पनि वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त छु।