कीर्तिपुरमा खुकुरी प्रहार गरेको अभियोगमा धानुकसहित ९ पक्राउ

काठमाडौं । कीर्तिपुर नगरपालिका-१० नयाँबजारस्थित दुई समुह बिच झडप हुँदा धारिलो हतियार खुकुरी प्रहार भएको घटनामा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न ठाउँमा डेरा गरी बस्ने बैतडी घर भएका २७ वर्षीय जयन्त धानुक, अछाम घर भएका २७ वर्षीय मोहन खड्‌का, २१ वर्षीय धुर्व बहादुर बिष्ट तथा २३ वर्षीय नविन भन्ने नृप भण्डारी, बझाङ घर भएका २० वर्षीय उपेन्द्र सिंह, २१ वर्षीय सुनिल रोकाया तथा २१ वर्षीय सुदिप गिरी,  कैलाली घर भएका २० वर्षीय तेज थापा तथा २२ वर्षीय तपेन्द्र खाती रहेका छन् ।

कीर्तिपुर नयाँबजारस्थित तपेन्द्रराज खाती र धनेश्वर खड्‌कासँगको पुरानो रिसिवी साध्ने क्रममा बुधबार बेलुकी दुई समुह बिच झडप हुँदा काठमाडौं कीर्तिपुर नगरपालिका-१० चिड्डुबिहार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई तपेन्द्रराज खाती समेतको समुहले खुकुरी प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई १ थान खुकुरीसहित पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ज्यान मार्ने उद्योग कसूरमा ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *