हार्दिक श्रद्धाञ्जली सोहनः वीर प्रहरी जवान, जो अपराधी पक्रन ज्यानकै बाजी लगाए… र हारे !



दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलामा दुई प्रहरीलाई चक्कु हानेका थुनुवा उमेशसिंह कुँवरलाई सोधपुछ गरिरहेको थियो । त्यसै क्रममा साढे ११ बजेतिर सोधपुछकै क्रममा सिंह हत्कडीसहित भागे । हत्कडीसहित भागेका सिंहलाई समात्नका लागि ड्युटीमा रहेका प्रहरी जवान सोहन चौधरी अचानक भीरबाट खस्न पुगे ।

जिल्ला प्रहरी कार्यालयको परिसरको पछाडिपट्टीको भिरबाट करिब ३० मिटर तल खस्न पुगेका चौधरीको टाउकोमा गम्भीर चोट लागेको जिप्रका दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) ज्ञानेन्द्रबहादुर सिंहले जनाए ।

महाकाली नदी तरेर भारततर्फ पुगेका कुँवरलाई भने भारतपट्टिका गोरखा रेजिमेन्ट (जीआर) ले उनीलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको थियो ।

यता गम्भीर घाइते चौधरीको प्राथमिक उपचार जारी रहेकै बेला करिब साढे १२ बजेतिर मृत्यु भएको जनाइएको छ ।

अपराधीलाई पक्राउ गर्नका लागि ज्यानकै बाजी लगाएर दौडिएका चौधरीले कर्तव्य पालनाका कै क्रममा ज्यान गुमाउन पुगे । कैलाली जिल्लाको कैलारीका ३० वर्षीय सोहन जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत थिए । प्रहरी कार्यालयको भवनको पछाडिको भागबाट तल हामफालेका चौधरी अनियन्त्रित हुँदै भिरबाट खस्न पुगेको जनाइएको छ । उनको शव अहिले जिल्ला अस्पताल दार्चुलामा राखिएको पनि जनाइएको छ ।

पोष्टमार्टमपछि उनको शव उनको घर पठाइने पनि प्रहरीले जनाएको छ ।

यसअघि माघको पहिलो साता उमेशले ड्युटीमा खटिएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नालाई कुँवरले चक्कु प्रहार गरेका थिए ।

उमेशले आफ्नै श्रीमती धनिशा कुँवरलाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरी टोली कुँवरको घरमा गएको थियो । घटनाको अनुसन्धानका लागि सामुदायिक प्रहरी केन्द्र बंगाबगरबाट उमेशको घरमा गएको प्रहरी टोलीमाथि आक्रमण भएको थियो ।

चक्कु प्रहारबाट प्रहरी जवान डम्बर ठगुन्नाको आँखा र कानको तल्लो भागमा गहिरो चोट लागेको छ । प्रहरी हवल्दार खड्कालाई समेत चोट लागेको थियो ।

 

* यस अगाडि भुलवश यस समाचारमा गलत तस्बिर प्रकाशन भएकाले हटाइएको छ। यसले पर्न गएको असरप्रति क्षमाप्रार्थी छौँ। -सम्पादक