भीरबाट लडेर प्रहरी जवान चौधरीले गुमाए ज्यान

२ प्रहरीमाथि चक्कु हानेका उमेशसिंह कुँवर बयानका क्रममा हतकडीसहित भाग्दै महाकाली पारी पुगेका थिए



दार्चुला । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवा सोमबार भाग्न खोजे। जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका महाकाली नगरपालिका– १ का उमेशसिंह कुँवर प्रहरीको मुद्दा फाँटमा सोधपुछको क्रममा भाग्न खोजेका हुन्।

हातमा हतकडी लगाएकै अवस्थामा भाग्न खोज्दा प्रहरी जवान सुहान चौधरीले ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालयको पछाडिबाट हाम फालेर भाग्ने क्रममा चौधरीले उनलाई रोक्न खोजेका थिए। हतकडीसहित हाम फालेका कुँवरसँगै हुत्तिएर चौधरी भिरबाट लडे। झन्डै सय मिटर तल खसेपछि प्रहरी जवानको ज्यान गएको छ।

‘थुनुवा भागेपछि प्रहरी जवानले रोक्न खोजे,’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले भने। टाउकोमा गम्भीर चोट लागेका उनको जिल्ला अस्पताल दार्चुलामा पुर्‍याउँदा मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए।

हाम फालेर भागेका कुँवर महाकाली तरेर भारततर्फ लागे। प्रहरी पनि सँगै नदी तरेर भारतपट्टि पुगेर नियन्त्रणमा लिइएको इन्स्पेक्टर सिंहले बताए। भारतबाट गोरखा रेजिमेन्टले पनि सहयोग गर्‍यो। गत माघ ७ गते ड्युटीमा खटिएका दुईजना प्रहरीमाथि चक्कु प्रहार गरेका कुवरलाई फागुन २२ गते प्रहरीले नियन्त्रणमा लिएको थियो।