नेपालसहित १९ देशका सैनिक काभ्रेमा, ‘शान्ति प्रयास चार’ अभ्यास सुरू



काभ्रे । संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वशान्ति कार्यमा खटिएका १९ मुलुकका एक हजार एक सय २५ सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सैनिक मुख्यालय टुँडिखेलमा आयोजित विशेष समारोहमा उक्त तालिमको उद्घाटन गरेका हुन् । शान्ति स्थापना मिसनमा सहभागी हुने फौजको पेसागत दक्षता, आपसी समन्वयात्मक क्षमता अभिवृद्धि सुनिश्चित गर्ने उद्देश्यले आयोजित तालिम काभ्रेस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखाल सञ्चालन हुनेछ ।

संयुक्त राज्य अमेरिका ग्लोबल पिस अपरेसन इनिसिएटिभको सहयोग एवं नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा अभ्यास सञ्चालन भएको हो । नेपालमा सन् २००० मा पहिलोपटक अभ्यास शान्ति प्रयास सञ्चालन भएको थियो । त्यस्तै, सन् २०१३ र सन् २०१७ मा यस अभ्यासका दोस्रो तथा तेस्रो संस्करणका अभ्यास सञ्चालन भइसकेका छन् । यस पटकको अभ्यास फागुन २१ सम्म सञ्चालन हुनेछ ।

अभ्यासबाट शान्ति स्थापनामा देखापरेका चुनौतीबारे सहभागी राष्ट्रका सैनिकबीच अनुभव आदानप्रदानका साथै चुनौती सामना गर्न आवश्यक क्षमता एवं समान व्यावसायिक कार्यशैली विकास गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

तालिम उद्घाटन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले विश्वशान्ति प्रयासका लागि संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सहभागितालाई महत्व दिँदै आएको बताए ।

उनले भने–‘नेपाली सेनाले शान्ति मिसनमा समावेशी संग्लनतालाई प्राथमिकता र महत्व दिँदै आएको छ, शान्ति स्थापनाका हिसाबले अति संवदनशील गोलनहाइटदेखि अफ्रिकाको सहारा मरुभूमिसम्म पुगेर देखाएको बहादुरीलाई विश्वले प्रशंसा गरेको छ । हाम्रो विश्वशान्तिमा लामो अनुभव र ऐतिहासिक उपस्थिति छ ।’

सो अवसरमा नेपाली मौलिकता झल्कने भेषभूषासहितको गीत–संगीत र नृत्य प्रस्तुत गरियो भने जीवित देवी कुमारीको झझल्को दिने संस्कार र संस्कृति प्रस्तुत गरियो । नेपाली सेनाको हेलिकोप्टरले समारोहमा पुष्पवृष्टिसहित अभ्यास शान्ति प्रयास चार लेखिएको ब्यानर हेलिकोप्टरबाट प्रदर्शन गरेको थियो ।

समारोहमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, रक्षासचिव किरणराज शर्मालगायत सहभागी थिए ।