विमानस्थल कुटपिटः डिएसपी पोखरेलसहित चार प्रहरीलाई कारबाहीको सिफारिस



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटापिट प्रकरणमा डीएसपीसहित चार प्रहरीलाई कारबाहीका लागि सिफारिस गरिएको छ।

छानबिन समिति स्रोतका अनुसारका कारबाहीका लागि सिफारिस हुनेहरुमा डीएसपी रेवतीरमण पोखरेल, असई सञ्जय तामाङ, प्रहरी जवान रविरन्जन गुप्ता र अर्का प्रहरी जवान राजकुमार महतो छन्।

डीएसपीको कमाण्डमा खटिएका उनीहरुले आफ्नो जिम्मेवारी उचित ढंगले पूरा गर्न नसकेको भन्दै डीएसपी पोखरेललाई सचेत गराउन भन्दै छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आफू मातहतका कर्मचारीलाई आफ्नो जिम्मेवारीमा राम्रोसँग परिचालन गर्न नसकेको भन्दै पोखरेललाई सचेतका लागि सिफारिस गरिएको समिति स्रोतले बतायो ।

त्यसैगरी अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि कुटपिटमा उत्रिएको भन्दै असई सञ्जय तामाङलाई भने निलम्बनका लागि सिफारिस गरिएको छ।

शरीर खानतलासी गर्न नदिएको अवस्थामा पक्राउ गरेर कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाउनुपर्नेमा कुटपिटमै उत्रिएको भन्दै असई तामाङलाई निलम्बनका लागि सिफारिसर गरिएको बताईएको छ ।

प्रहरी जवान रविरन्जन गुप्ता र राजकुमार महतोको हकमा भने सामान्य विभागीय कारबाही हुनसक्ने बताइएको छ।

त्यसैगरी अध्यागमन अधिकृत छायालाल मोक्तानलाई समेत कारबाही गर्नका लागि सिफारिस गरिएको छ।

समितिले बुधबार मात्रै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो। गत शुक्रबार दिउँसो मध्याह्न प्रहरी र अध्यागमन अधिकृतबीच कुटाकुट भएको थियो।

त्यसपछि माघ १२ गते गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिन समिति गठन गरेका थिए।

समितिमा गौतमका साथै नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यामन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य थिए।