सनसनीपूर्ण जितका साथ नेपाल सुपर सिक्समा प्रवेश

कप्तान देव खनाल र आकाश चन्दको उत्कृष्ट प्रदर्शन



काठमाडौं । कप्तान देव खनाल र आकाश चन्दको उत्कृष्ट क्रिकेटले नेपाल आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ ।

जित्नै पर्ने दबाबका साथ समुह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध १ विकेटको जित हात पार्दै नेपाल सुपर सिक्स चरणमा प्रवेश गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ९ विकेटको क्षतिमा ४४.४ ओभरमा १४९ रन बनाउँदै उक्त लक्ष्य हासिल गरेको हो ।

नेपालका लागि कप्तान देव खनालले उत्कृष्ट ब्याटिङ गर्दै अर्धसतकसहित ५८ रनको पारी खेलेपछि नेपालले जित हात पारेको हो ।

२४ रन बनाउँदा तेस्रो विकेट गुमाएको नेपालका लागि कप्तान खनालले एउटा इन्डबाट उत्कृष्ट क्रिकेट खेल्दै जितको आधार खडा गरे । उनले आकाश त्रिपाठी र दिपक बोहोरासँग उत्कृष्ट साझेदारी गर्दै टिमको जितका लागि १९ रन चाहिएको बखतमा सातौं विकेटको रुपमा आउट भएका थिए ।

नेपालका लागि अर्जुन कुमालले १० रन बनाए भने आकाश त्रिपाठीले १६ रन बनाए । त्यस्तै दिपक बोहोरा २७ रनमा आउट भए । उनी जितका लागि ६ रन आवश्यक बाँकी रहेको बखत आउट भएका थिए । नेपालले २ रन चाहिएको बखतमा आकाश चन्दलाई नवौं विकेटको रुपमा गुमाएको थियो । नेपालका सुवास भण्डारीले विकेट नगुमाइ ९ रन बनाए ।

आशा गरिएका गुल्सन झा पुनः एकपटक असफल सिद्ध भए । उनी १ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा विपीन रावलले २, दिपक डुम्रे ५, दिपेश कँडेलले ४ रन बनाएका थिए ।

अफगानिस्तानका लागि फरिदुन दवुद्जाईले ३ विकेट लिएका थिए । त्यस्तै कप्तान नसिर खान र खलिल अहमदले २/२ विकेट लिए । त्यस्तै अम घजन्फर र अरब गुलले १/१ विकेट लिएका थिए ।