नेपाल न्यूजिल्यान्डसँग ६४ रनले पराजित



काठमाडौं । आईसीसी यू–१९ विश्वकपको पहिलो खेलमा नेपालले पराजय ब्यहोरेको छ । दक्षिण अफ्रिकामा जारी विश्वकपमा नेपाल आज न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले दिएको ३०३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल ५० ओभरमा ९ विकेट गुमाएर २३८ रनमात्र  बनाएपछि पहिलो खेलमा पराजय भोगेको हो ।

विशाल रन लक्ष्य पछ्याउन ब्याटिङका लागि मैदान प्रवेश गरेको नेपालले पहिलो ओभरदेखि नै पारी लड्खडाउन सुरु गरिसकेको थियो ।

नेपालका लागि ओपनर अर्जुन कुमालले शानदार ९० रनको पारी खेले पनि टिमलाई जित दिलाउन भने सकेनन् ।

नेपालका लागि कप्तान देव खनालले ३६ रन बनाए भने दिपक बोहोराले १५ रन बनाए । त्यस्तै ३ ब्याट्सम्यान शून्य रनमा आउट भएका थिए । ओपनर दिपक बोहोरा, उत्तम मगर र दिपेश कँडेल बिना कुनै रन आउट भए ।

१७६ रन बनाउँदा ८ विकेट गुमाएको नेपालका लागि अन्तिमतिरका ब्याट्सम्यानले केही ठूला सटहरु खेल्दै नेपालको हारको अन्तर घटाएका थिए । नेपालका लागि आकाश चन्दले १४ रन बनाए भने सुवास भण्डारीले ३३ रन र तिलक भण्डारीले १७ रन बनाए ।

न्युजिल्यान्डका मासन क्लार्कले ८ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए । एवाल्ड श्रेडर र ओस्कर ज्याक्सनले २-२ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको न्यूजिल्याण्डले स्नेहिथ रेड्डीको उत्कृष्ट शतकका साथ ८ विकेटको क्षतिमा ३०२ रन बनाउँदै नेपाललाइ विशाल लक्ष्य प्रस्तुत गरे । उनले १ सय ४७ रन बनाए । उनले उक्त रन १२५ बलमा बनाएका थिए । उनले ११ चौका र ६ छक्का प्रहार गरेका थिए ।

न्यूजिल्यान्डका लागि कप्तान ओस्कार ज्याक्सनले ७५ रनको पारी खेल्दा टम जोन्सले ३३ रन बनाए ।

त्यस्तै लुके वाट्सनले १४ रन बनाए भने एलेक्स थम्सनले १३ रन बनाए ।

नेपालका  सुवास भण्डारीले ३ विकेट लिए भने गुल्सन झाले २ विकेट लिए भने तिलक भण्डारी, आकाश त्रिपाठी र दिपेक कँडेलले १र१ विकेट हात पारे ।

अब नेपालले अर्को खेल २४ तारिखका खेल्नेछ । नेपालको समूहमा न्यूजिल्याण्डसहित अफगानिस्तान र पाकिस्तान रहेका छन् ।