बाजुराकी छायाँ, जसले निकालिन् एकैवर्ष ६ पटक लोकसेवामा नाम



काठमाडाैं । छायाँ कुमारी जैसी, दुर्गम जिल्ला बाजुराको बुढीगंगा गाउँपालिका वडा नं. ६ माल्तामा जन्मिएकी हुन् । ठूलो परिवारमा जन्मिएकी छायाँले दुई हात मुख जोर्नकै लागि संघर्ष गर्नुपर्ने अवस्थामा रहेका बुवाआमाको संघर्षलाई राम्रोसँग बुझेकी थिइन् ।

दिदीहरु र बहिनीहरुको बिचमा रहेकी छायाँ स्थानीय भानुदय माविकी विद्यार्थी हुन् । उनै छायाँले पछिल्लो पटक १० महिनाको अवधिमा ६ पटक लोकसेवा पास गरेर जागिर सुरु गरिसकेकी छिन्, र जैशी परिवारमा खुशीको दियो बालेकी छिन् ।

ठूलो परिवार भएकै कारण छोराछोरीलाई खुवाउनकै लागि संघर्ष गर्नुपर्ने अवस्थामा जेनतेन छोराछोरीको भोकोपेट र नांगो शरीर ढाकी रहेका बुवा महानन्द जैसीले छायाँलाई कृषि प्राविधिक पढ्न लगाए । आफ्ना ७ सन्तानमध्ये चौथो सन्तान छायाँको सानैदेखिको सरकारी जागिर खाने चाहनलाई महानन्दले पूरा गर्नकै लागि छायाँलाई गाउँमै रहेको विद्यालयमा प्राविधिक विषय पढ्न लगाएको बताए ।

उनले भेटेनरी चौथो तहमा कोशी प्रदेश सिफारिस भएकी छायाँले लोकसेवा आयोगको पहिलो परीक्षा कर्णाली प्रदेशबाट सफलता प्राप्त गरिन् तर अन्तर्वार्तामा भने वैकल्पिकमा निस्कियो । लगत्तै कोशी प्रदेशमा मंसिर ३० गते रिजल्ट आएर सिफारिस भइन् ।

त्यसपछि पनि पौष २५ गत लुम्बिनि प्रदेशमा भेटेनरी चौथो तह, पौष ९ गते संघिय लोकसेवा आयोग पाँचौ तह, पौष ३ गते बाग्मती पाँचौ तह र असोज १४ गते सुदूरपश्चिम प्रदेश चौथो तहमा लिखितमा नाम निकालेकी छिन् । चार परीक्षाको मौखिक परीक्षाफल प्रकाशित हुन बाँकी छ ।

उनी हाल कोशी प्रदेशको उदयपुर जिल्ला ताप्ली गाउँपालिकामा कार्यरत छिन् । उनले पछिल्ला पटक दिएका सबै परिक्षामा नाम निकालेर आफ्नो मात्र नभई बुढीगंगाकै शान बढाएकोमा खुशी व्यक्त गर्छन् गाउँपालिका प्रमुख रामबहादुर बानियाँ । जिल्लाकै नमुना विद्यालयका रुपमा सञ्चालित भानुदयका प्रधानाध्यापक पनि छायाँको खुशीमा खुशी मिसाउँछन् ।