डा. मनिष नेपालका लागि कोस्टारिकाको अवैतनिक महावाणिज्यदूत नियुक्त



डा. मनिष नेपालका लागि कोस्टारिकाको अवैतनिक महावाणिज्यदूत नियुक्त

काठमाडौं । कोस्टारिका सरकारले डा.मनिष थापालाई नेपालका लागि कोस्टारिकाको अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ । नेपाल र कोस्टारिकाबीचको कूटनीतिक सम्बन्धलाई सुमधुर बनाउने प्रतिबद्धतालाई जोड दिँदै कोस्टारिका सरकारले डा.थापालाई नेपालका लागि कोस्टारिकाको अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेको हो ।

यो नियुक्तिले दुई देशबीचको व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानमा सहकार्य र सम्बन्धलाई सुदृढ पार्ने महत्वपूर्ण कदम रुपमा हेरिएको छ । नेपाल र कोस्टारिकाबीच १६ अगस्ट १९७७ मा पारस्परिक विश्वास, मित्रता र सद्भावनामा आधारित कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

डा.थापाको अवैतनिक वाणिज्यदूतमा नियुक्तिले विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धिको महत्त्वलाई जोड दिने विश्वास गरिएको छ । डा.थापाको नियुक्तिसँगै दुई देशबीचको आपसी सहकार्यले व्यापार, पर्यटन र शिक्षाजस्ता प्रमुख क्षेत्रहरुको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कोस्टारिका सरकारले डा.थापालाई बधाइ दिंदै नेपालसँग समृद्ध साझेदारीको अपेक्षा गरेको जनाएको छ । अक्टोबर २०१८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कोस्टारिकाको उच्चस्तरीय आधिकारिक भ्रमणलाई डा.थापाले सहजीकरण गरेका थिए ।

सो समयमा उनी कोस्टारिकाको संयुक्त राष्ट्रसंघीय युनिभर्सिटी फर पिसमा प्राध्यापकको रुपमा कार्यरत थिए । डा.थापाले सरकारी अधिकारीहरु, व्यवसायी नेताहरु र सांस्कृतिक संस्थाहरुसँग सहकार्य र वृद्धिका नयाँ मार्गहरु खोज्न सक्रिय रूपमा संलग्न हुने अपेक्षा गरिएको छ ।